जनकपुरधामको आधारभूत व्यवस्थापन सुधार्न जनसरोकार अभियानको दबाब

१६ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाभित्र सरसफाइ, सडकबत्ती, सडक तथा नाला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा तत्काल सुधार गर्न माग गरिएको छ।

जनसरोकार अभियानले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक तथा ऐतिहासिक नगरीको पहिचान कायम राख्न नगर क्षेत्रको आधारभूत व्यवस्थापनमा सुधार आवश्यक रहेको जनाएको हो।

अभियानका अध्यक्ष जितेन्द्र महासेठ तथा महासचिव कौशल्या कुशवाहासहितको टोलीले शुक्रबार नगर प्रमुख साहलाई ज्ञापनपत्र बुझाउँदै जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखेर नगर व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेको हो।

अभियानले नगरभित्र नियमित र प्रभावकारी सरसफाइको व्यवस्था गर्न, सडकबत्तीलाई व्यवस्थित तथा सञ्चालनमा ल्याउन, जीर्ण सडकको मर्मत तथा नालाको उचित व्यवस्थापन गर्न माग गरेको छ।

त्यस्तै, बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापनमा सुधार, सार्वजनिक स्थल तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरण र स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने वातावरण निर्माणमा समेत उपमहानगरपालिकाले विशेष ध्यान दिनुपर्ने अभियानको माग छ।

जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्वका कारण यहाँ आउने श्रद्धालु तथा पर्यटकको संख्या महत्वपूर्ण रहेको उल्लेख गर्दै अभियानले नगरको आधारभूत पूर्वाधार र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने जनाएको छ।

अभियानले नगरको समग्र व्यवस्थापन सुधारका लागि आफूहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न नगर प्रमुख साहसँग आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more