८ असोज, काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम भारी वर्षाका कारण प्रभावित हुन सक्ने भन्दै आवश्यकताअनुसार मिति समायोजन गर्न निर्देशन दिइएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ। यसअघि वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेका छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको कांग्रेसले जनाएको छ। आगामी केही दिनसमेत वर्षा कायम रहने भन्दै मौसम विभागलगायत विभिन्न निकायले सतर्क रहन सूचना जारी गरेका छन्।
यसैलाई मध्यनजर गर्दै असोज १० गतेका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी सञ्चालन गर्न निर्देशन दिइएको छ।
मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन कार्यक्रम सञ्चालन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।















