असोज ८, जनकपुरधाम। बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज भक्तजनहरूले नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको पूजा–आराधना गर्दै साधना गरिरहेका छन्। दसैँ घर तथा विभिन्न धार्मिकस्थलहरूमा विधिपूर्वक पूजा–पाठको विशेष वातावरण देखिएको छ।
धार्मिक विश्वासअनुसार, चन्द्रमा आधार भएको घण्ट हातमा धारण गर्ने भएकै कारण देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत “चन्द्रः घण्टायां यस्याः सा” भनेर चन्द्रमा जसको घण्टामा छ, उनी चन्द्रघण्टा हुन् भन्ने उल्लेख पाइन्छ।
पण्डित ज्योतिर्विद्य अमित कुमार झा का अनुसार, चन्द्रघण्टा देवीको साधना गरे आन्तरिक शक्ति प्राप्त हुन्छ र जीवनमा सकारात्मक ऊर्जा थपिन्छ। देवीको स्वरूप पहेँलो वर्णको, शिरमा अर्धचन्द्रसहित घण्ट धारणा गरेकी र अत्याचारी दानवीय शक्तिहरूको नाश गर्ने शक्तिशाली रूपको रुपमा वर्णन गरिएको छ।
यस दिन मणिपुर चक्रलाई ध्यान गर्ने चलन छ। वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले भने, “चन्द्रघण्टा देवीको कृपा प्राप्त भए पाप नाश हुने र मन, मस्तिष्क शान्त रहने विश्वास छ।” उनका अनुसार देवी सामान्य, शान्त र करुणामयी स्वरूपकी हुन्।
गीत–संगीत क्षेत्रमा लागेकाले विशेषत: चन्द्रघण्टा देवीको आराधना गर्ने प्रचलन रहिआएको बताइन्छ। आजको दिन विशेष साधना, भक्ति र ध्यानका साथ चन्द्रघण्टा देवीको पूजा आराधना गरे जीवनमा सौभाग्य र ललाटमा आभा प्राप्त हुने जनविश्वास छ। नवरात्रको यस तेस्रो दिन जनकपुरधामसहित देशभरका देवीस्थान तथा घरघरमा चन्द्रघण्टा देवीको विशेष पूजाअर्चना चलिरहेको छ।



















