सुधन गुरुङको सुरक्षामा जोखिम बढेको दाबी, रास्वपाद्वारा पीएसओसहित सुरक्षा माग

माघ १६, गोरखा। — गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङको सुरक्षामा जोखिम बढेको भन्दै पार्टीले प्रशासनसँग पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ।
रास्वपा गोरखाका अनुसार पछिल्ला दिनहरूमा धार्चे र चुमनुब्री क्षेत्रका विभिन्न स्थानमा चुनावी घरदैलो अभियानमा सक्रिय रहेका गुरुङमाथि हातहतियार बोकेका केही व्यक्तिहरूबाट खतरा हुन सक्ने गोप्य सूचना प्राप्त भएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै औपचारिक रूपमा सुरक्षा प्रबन्ध मिलाउन माग गरिएको पार्टीका सचिव मिलन रानाले जानकारी दिए।
यस विषयमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षा अवस्थाको विश्लेषण सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी भरत विकका अनुसार हालसम्म ठोस र प्रमाणित खतरा देखिएको छैन। तथापि प्राप्त सूचनालाई गम्भीर रूपमा लिँदै निगरानी बढाइएको र आवश्यक सतर्कता अपनाइएको उनले बताए। निर्वाचन प्रचारका गतिविधि र उम्मेदवारहरूको आवतजावतलाई ध्यानमा राख्दै समग्र सुरक्षा अवस्थाको नियमित मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, रास्वपा गोरखाले सामाजिक सञ्जालमार्फत गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या गर्ने उद्देश्यले अफवाह फैलाइएको आरोप लगाएको छ। पार्टीले यस्ता भ्रामक र आधारहीन प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेको छ।
निर्वाचनको संवेदनशील समयमा उम्मेदवारको सुरक्षा र निष्पक्ष वातावरण सुनिश्चित गर्न प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने रास्वपाको जोड छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more