सिमरा झडप प्रकरणमा दुई वडाध्यक्ष पक्राउ, क्षेत्रमा तनाव कायमै

मंसिर ४, सिमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी समूह र नेकपा (एमाले) निकट नेता तथा कार्यकर्ताबीच बुधवार भएको झडपको विषयले राजनीतिक र सुरक्षागत वातावरणलाई थप चर्काएको छ। झडपका क्रममा घाइते भएकाहरूको किटानी जाहेरीको आधारमा प्रहरीले दुई जना निर्वाचित वडाध्यक्षलाई पक्राउ गरेको पुष्टि भएको छ।

पक्राउ परेकामा जीतपुरसिमरा–२ का ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का ३४ वर्षीय वडाध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन्। दुबै जना नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, सिमराले नियोजित आक्रमणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो।

बुधवार दिउँसो नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने कार्यक्रम थियो। उनीहरूलाई स्वागत गर्न एमाले निकट युवा संघ नेपालका कार्यकर्ताहरू विमानस्थल क्षेत्रमा भेला भएका थिए। यसैबीच जेन–जी समूहले विमानस्थल बाहिर प्रदर्शन गरेपछि दुवै पक्ष सिमरा चोकमा आमनेसामने हुँदै झडप चर्किएको थियो।

झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए। घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिमाथि नियोजित रूपमा आक्रमण गरेको आरोप लगाउँदै किटानी जाहेरी दर्ता गराएका थिए। प्रहरी प्रशासनले सोही जाहेरीका आधारमा दुवै जनप्रतिनिधिलाई पक्राउ गरेको हो।

स्थिति अत्यधिक तनावपूर्ण बन्दा स्थानीय प्रशासनले जीतपुरसिमरा क्षेत्रमा केही समयका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो। कर्फ्यु हटाए पनि क्षेत्रको वातावरण पूर्ण रूपमा सामान्य हुन बाँकी छ। सुरक्षात्मक सतर्कता बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more