जनकपुरधाम, ६ मंसिर । संघीय लोकतान्त्रिक मोर्चाले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ र प्रतिनिधि सभा निर्वाचन, २०८२ मा संयुक्त रूपमा सहभागी हुने निर्णय गरेको छ ।
आज २०८२ मंसिर ६ गते मोर्चाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बसेको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सर्वसम्मत निर्णय गर्दै निर्वाचनमा मोर्चाका सबै घटक दलहरू मिलेर जाने जनाएको हो ।
बैठकमा आगामी निर्वाचनहरू भयमुक्त, स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
मोर्चाले स्वतन्त्र, निष्पक्ष र जनमतको सम्मान हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था, प्रशासनिक तयारी तथा समन्वयका सबै पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा मोर्चाले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्णायक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित चुनावी तयारी तीव्र बनाउने उल्लेख गरिएको छ ।
















