मिथिला –मधेसमा छठको दोस्रो दिन ‘खरना’ विधि धूमधामका साथ मनाइदै

कार्तिक ९, जनकपुरधाम। सूर्यदेव र छठी माताको आराधनामा समर्पित मिथिला –मधेसको महान् पर्व छठको दोस्रो दिन ‘खरना’ विधि आज धार्मिक उत्साह र श्रद्धासहित मनाइँदै छ। भक्तजनहरू दिनभर निराहार–निर्जल उपवास बसेर साँझमा छठी माता र कुलदेवताको आराधना गर्छन्।

कात्तिक शुक्ल पञ्चमीका दिन मनाइने खरना विधिअनुसार व्रतालुहरूले साँझ चामल, दूध र सख्खर मिसाएर बनाइएको रसियाव (खिर), रोटी, केरा, फलफूल र विभिन्न मिठाइले पूजा गरी प्रसाद चढाउँछन्। त्यसपछि सोही प्रसाद ग्रहण गरी परिवार, छिमेकी र पाहुनाहरूसँग बाँड्दै सामुदायिक एकता र सद्भावको सन्देश फैलाउँछन्।

छठ पर्वको पहिलो दिन शनिबार ‘नहाय–खाय’ विधिबाट विधिवत् रूपमा शुभारम्भ भएको थियो। उक्त दिन व्रतालुहरूले नदी, पोखरी वा अन्य पवित्र जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेर आत्मिक तथा शारीरिक शुद्धताको प्रारम्भ गरेका थिए।

आजको खरना विधिपछि व्रतालुहरू भोलि कात्तिक शुक्ल षष्ठी तिथिको मुख्य अर्घ्य दिनको तयारीमा जुटेका छन्। भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने पर्सि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिने परम्परा रहेको छ।–घरमा विशेष रूपमा ठेकुवा, भुसवा, खजुरिया लगायतका परिकारहरू बनाइँदै छन्। ग्रामीण क्षेत्रमा अझै पनि माटोको चुल्हो र ढेकी–जाँतो प्रयोग गरेर परम्परागत ढङ्गले प्रसाद तयार गर्ने चलन जीवित छ।

तर, सहरी क्षेत्रमा भने आधुनिक जीवनशैली र व्यस्तताका कारण ग्यास चुल्हो र बजारको पिठो प्रयोग बढ्दै गएको छ। आधुनिक सुविधाको प्रभाव भए पनि श्रद्धा, भक्ति र परम्पराको गहिरो सम्बन्धले छठ पर्व अझै पनि मिथिला–मधेसका समाजमा सामूहिक एकता र धार्मिक आस्थाको प्रतीक बनेको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more