२७ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनपछि सामाजिक सञ्जालमार्फत सरकारलाई नियमभन्दा मानव जीवनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै कार्कीले नियम मानिसका लागि बनाइने भएकाले नियमका कारण मानिसलाई असहज अवस्था सिर्जना हुने हो भने त्यसको पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनुपर्छ, या त नियमका बारेमा मान्छेलाई अझ बढी बुझाउनुपर्छ।”
कार्कीले ‘मान्छे र नियममध्ये कुन रोज्ने’ भन्ने प्रश्न नै अनुचित भएको उल्लेख गर्दै, यदि रोज्नै परे आफूले ‘मान्छे’ रोज्ने बताएका छन्। साथै सरकार र राजनीतिक दलका समर्थकलाई सरकार वा पार्टीको बचाउ गर्ने क्रममा मानव जीवनभन्दा माथि नियमलाई राख्ने तर्क नगर्न आग्रह गरेका छन्।
सांसद कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने तथ्य उल्लेख गर्दै आत्महत्याका प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने बताए। उनले यी दुवै अवस्थालाई समयमै परामर्श, सचेतना र सहयोगमार्फत कम गर्न सकिने भएकाले मानसिक स्वास्थ्यबारे खुला छलफल र जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्।


















