बौधिमाई नगरपालिकाका मेयर सवार सरकारी गाडी प्रहरी द्वारा नियन्त्रणमा

२२ फागुन, रौतहट । प्रेमचन्द्र झा–— चुनावी आचारसंहिता लागू भएको समयमा बिना अनुमति सरकारी सवारी साधन प्रयोग गरेको आरोपमा रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादव सवार सरकारी गाडी प्रहरीले विहिवार नियन्त्रणमा लिएको छ। निर्वाचनको वातावरणलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायले कडाइका साथ अनुगमन तथा चेकजाँच गरिरहेका बेला उक्त गाडी नियन्त्रणमा लिइएको हो।
सुरक्षा स्रोतका अनुसार रौतहटको बौधिमाई नगरपालिका क्षेत्रमा निर्वाचन सुरक्षा ड्युटीमा खटिएका प्रहरीको विषेश टोलीले नियमित चेकजाँचका क्रममा मेयर यादव प्रयोग गरिरहेको ना.१ झ.१६९३ नम्बरको सरकारी गाडी रोकेका थिए। जाँचका क्रममा उक्त सवारी साधन चुनावी आचारसंहिता लागू भएको समयमा आवश्यक अनुमति (प्रमिशन) बिना प्रयोग भइरहेको भेटिएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ।
निर्वाचन अवधिमा सरकारी स्रोत–साधनको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिएको हुन्छ। विशेषगरी जनप्रतिनिधि, उम्मेदवार तथा सरकारी पदाधिकारीहरूले सरकारी गाडी, कार्यालयका साधन वा अन्य सरकारी स्रोतहरू चुनावी गतिविधिमा प्रयोग गर्न नपाउने प्रावधान रहेको छ। त्यसका लागि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको भए पनि उक्त गाडी आवश्यक अनुमति बिना प्रयोग गरिएको प्रारम्भिक रूपमा देखिएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षा स्रोतका अनुसार निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन जिल्लाभरि सुरक्षाकर्मीले सवारी साधनहरूको निगरानी तथा चेकजाँचलाई तीव्र बनाएका छन्। सोही क्रममा अनुमति नलिई प्रयोग भइरहेको सवारी साधनहरूलाई रोक्ने तथा आवश्यक परे नियन्त्रणमा लिने कार्य भइरहेको जनाइएको छ।
घटनापछि नियन्त्रणमा लिइएको गाडीबारे सम्बन्धित निकायमार्फत थप अनुसन्धान सुरु गरिएको बताइएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया तथा कारबाही अघि बढाइने सुरक्षा निकायले जनाएको छ। साथै निर्वाचन आचारसंहिता पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा जनप्रतिनिधिलाई आग्रह गरिएको छ। नगर प्रमुख यादवले निकै हार गुहार गरे पछि उक्त गाडी नचलाने सर्तमा सांचो फिर्ता गरेकाे उच्च सुरक्षा स्रोतले बताए ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more