२१ फागुन, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की ले कतार का प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी सँग टेलिफोन संवाद गरेकी छन्।
आज दिउँसो भएको उक्त संवादका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी थिइन्।
वार्ताका क्रममा उनले कतारमा रहेका करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन्। “हाल करिब ३ लाख ६० हजार नेपाली नागरिक कतारमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा अत्यन्त खुसी लागेको छ,” भन्दै उनले कतार सरकारप्रति कृतज्ञता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नेपालको धारणा रहेको स्पष्ट पारिन्। साथै उनले संयुक्त राष्ट्रसंघ को बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा जेनेभा अभिसन्धि लगायत मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन्।
कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले दीर्घकालीन शान्तिका लागि संवाद र कूटनीतिक उपाय नै प्रभावकारी माध्यम भएको बताइन्। साथै नेपाल–कतारबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य तथा जनस्तरको सम्बन्धमार्फत आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा विशेष गरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै कतारप्रति ऐक्यबद्धता जनाइन्।
जवाफमा कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबीचको सुमधुर तथा मित्रवत् सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकले त्यहाँको विकासमा महत्वपूर्ण योगदान दिएको बताए। उनले वर्तमान परिस्थितिमा पनि नेपाली नागरिकलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।
अल–थानीले वर्तमान अवस्थालाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो देशले सार्वभौमिकता र आत्मसुरक्षाका लागि आवश्यक कदम चालिरहेको जानकारी दिए। साथै कतार सधैं शान्तिको पक्षमा रहेको उल्लेख गर्दै यस कठिन समयमा नेपालले देखाएको मित्रता र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।
उनले वर्तमान परिस्थिति चाँडै अन्त्य हुने आशा व्यक्त गर्दै नेपाल–कतार सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र विस्तार गर्न दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

















