प्रधानमन्त्री ओली आज बारा र महोत्तरी जाँदै

श्रावण ९, काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली आज बारा र महोत्तरी जिल्लाको भ्रमणमा जाँदैछन्। लगातारको कामको चापले थकित भएको जनाउँदै उनले बिहीवार कुनै सार्वजनिक कार्यक्रममा सहभागिता जनाएनन्। आज भने उनले तराई-मधेशमा देखिएको खडेरीको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै तराई–मधेशमा साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नसकेको गम्भीर अवस्था रहेको बताएका छन्। उनले लेखेका छन्, “तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ।”

उनका अनुसार यस क्षेत्रका किसानहरू अहिले मौसम र पानी नपरेकै कारण गम्भीर समस्यामा परेका छन्। वर्षाको भरमा हुने कृषि प्रणाली भएको तराई–मधेश क्षेत्रमा हालसम्म पानी नपर्नु र रोपाइँ हुन नसक्नुले खाद्यान्न संकटको समेत सम्भावना बढाएको छ।

सरकारले केही दिनअघि मात्र मधेशमा खडेरीको अवस्था अध्ययन गर्न सहसचिव नेतृत्वको टोली खटाएको थियो। टोलीले अध्ययन प्रतिवेदन पेश गरेपछि राहत प्याकेज तोक्ने निर्णय लिइएको छ। यस्तै पृष्ठभूमिमा प्रधानमन्त्री स्वयं क्षेत्रमै पुगेर वस्तुस्थिति बुझ्न लाग्नुलाई राजनीतिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

तराई-मधेशका किसानहरू हाल पानी नपरेको कारण बिउसमेत सुक्न लागेको, रोपाइँको समय गुम्न लागेको र चर्को घामले पशुचौपायाँलाई समेत चरनको अभाव भएको गुनासो गरिरहेका छन्। प्रधानमन्त्रीको यस क्षेत्रको भ्रमणले स्थानीयको समस्या समाधानतर्फ राज्यको ध्यान खिच्न मद्दत गर्ने आशा गरिएको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमणसँगै कृषिमा केन्द्रित सरकारी रणनीति तथा संभावित राहत प्याकेजबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

 

प्रधानमन्त्री ओलिको फेसबुक पोष्ट
प्रधानमन्त्री ओलिको फेसबुक पोष्ट
  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply