कार्तिक २, काठमाडौ ।–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ वर्षमा नेपालले पाइपलाइनमार्फत साढे ६ अर्ब लिटरभन्दा बढी इन्धन आयात गरेको छ । यससँगै देशभर इन्धन आपूर्ति प्रणालीमा ठूलो परिवर्तन आएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
अमलेखगञ्ज क्षेत्रीय प्रमुख प्रलयङ्कर आचार्यका अनुसार हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल पाइपलाइनमार्फत भारतको मोतिहारीबाट नेपाल आयात गरिएको छ । यसरी कुल ६ अर्ब ३४ करोड ९२ लाख लिटर इन्धन पाइपलाइनबाट ल्याइएको हो ।
२०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको यो दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । सो दिनदेखि डिजेल आयात सुरु गरिएको थियो भने २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मंसिर १९ देखि मट्टितेल पनि सोही पाइपलाइनबाट ल्याउन थालिएको हो ।
सहज आपूर्ति र ७० प्रतिशत माग पूर्ति
अमलेखगञ्जस्थित डिपोमार्फत देशको करिब ७० प्रतिशत पेट्रोलियम माग पुरा भइरहेको छ । त्यहाँबाट काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, वीरगञ्ज, जनकपुर लगायतका प्रमुख डिपोहरूमा इन्धन आपूर्ति भइरहेको छ ।
“नेपालको कुल खपतको करिब ७० प्रतिशत इन्धन अमलेखगञ्जबाट नै आपूर्ति भइरहेको छ,” प्रमुख आचार्यले बताए, “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने क्षमता भए पनि माग स्थिर भएकाले हाल पूर्ण क्षमतामा सञ्चालन भइरहेको छैन ।”
ढुवानी खर्चमा तीन अर्ब बचत
पाइपलाइन सञ्चालनपछि वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत भएको निगमले जनाएको छ । सडकमार्गबाट ट्याङ्करद्वारा इन्धन ल्याउँदा हुने खर्च, दुर्घटना जोखिम, चोरी र मिसावटजस्ता समस्या पनि घटेका छन् ।
“अब ट्याङ्कर दुर्घटना वा इन्धन चोरीको जोखिम छैन,” आचार्यले भने, “पाइपलाइनले ढुवानी सहज बनाएको छ र वातावरणीय प्रभाव पनि न्यून छ।”
अमलेखगञ्ज : अत्याधुनिक डिपो
पाइपलाइन परियोजनाको दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारणका लागि चारवटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन् । इन्धनको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्याङ्क र अत्याधुनिक अग्नि नियन्त्रण प्रणाली पनि जडान गरिएको छ ।
हाल अमलेखगञ्जमा १७,५०० किलोलिटर पेट्रोल, २७,५०० किलोलिटर डिजेल र २,२०० किलोलिटर मट्टितेल भण्डारण क्षमता रहेको छ । पुराना ट्याङ्कसहित कुल ९४,००० किलोलिटर इन्धन भण्डारण गर्न सक्ने क्षमता बनेको छ । यस कारण अमलेखगञ्ज देशकै सबैभन्दा ठूलो र अत्याधुनिक इन्धन डिपो बनेको छ ।
अमलेखगञ्ज डिपोको निर्माण विसं २०३० मा सुरु भई २०३३ माघमा सञ्चालनमा आएको थियो । करिब ६७ हजार ७२४ वर्गमिटर क्षेत्रमा फैलिएको यो डिपो अहिले देशको पेट्रोलियम आपूर्तिको मुटु बनेको छ ।
नयाँ पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण
सरकारले हाल दुई नयाँ पाइपलाइन परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरेको छ —
1. सिलगुडी (भारत)–चारआली (झापा) पाइपलाइन
2. अमलेखगञ्ज–लोथर (चितवन) पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण
बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो, १०.७५ इञ्च व्यासको पाइपलाइन बिछ्याउने काम गत साउन १६ गतेदेखि सुरु भइसकेको छ ।
परियोजना प्रमुख प्रदीप यादवका अनुसार, “तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।” उक्त पाइपलाइनबाट नियमित रूपमा ३२ सय किलोलिटर इन्धन भण्डारण गर्न सकिनेछ र २७३ किलोलिटर प्रतिघण्टा गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।
लोथरमा नयाँ डिपो निर्माण हुँदै
राप्ती नगरपालिका–१, लोथरमा करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहित ग्रीन फिल्ड टर्मिनल निर्माण भइरहेको छ ।
त्यहाँ निम्न संरचना बन्नेछन्:
पेट्रोलका लागि तीनवटा (११ हजार किलोलिटर क्षमताका) भर्टिकल ट्याङ्क
डिजेलका लागि तीनवटा (१५ हजार ५०० किलोलिटर क्षमताका) ट्याङ्क
मट्टितेलका लागि दुईवटा (८०० किलोलिटर क्षमताका) ट्याङ्क
हवाई इन्धनका लागि तीनवटा (३,६०० किलोलिटर क्षमताका) ट्याङ्क
दुईवटा ट्रान्समिक्स ट्याङ्क
यसरी लोथरमा बन्ने नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता हुनेछ ।
लागत र लक्ष्य
पाइपलाइन र भण्डारण गृह निर्माणको अनुमानित लागत रु १४ अर्ब ९ करोड ६० लाख रहेको निगमले जनाएको छ । पूर्व–पश्चिम राजमार्गसँग समानान्तर बिछ्याइने यो पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिनेछ ।
भण्डारण क्षमतामा प्रदेशगत विस्तार
नेपाल सरकारको दीर्घकालीन योजना सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तार गर्ने हो । त्यसअनुसार नेपाल आयल निगमले विभिन्न प्रदेशमा नयाँ डिपो र ट्याङ्क निर्माणका काम अघि बढाइरहेको छ ।
















