सिंहदरबारको आगोमा महानगरको दमकल सहभागी भएको सेनाको दाबी

कार्तिक २, काठमाडौ । सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा काठमाडौं महानगरपालिकाको दमकल नपुगेको भन्ने आलोचना खारेज गर्दै नेपाली सेनाले औपचारिक रूपमा स्पष्टिकरण दिएको छ। सेनाका अनुसार महानगरको दमकल भदौ २४ गते राति ८ बजे नै सिंहदरबार पुगेको थियो र प्रारम्भदेखि नै समन्वयपूर्वक आगो नियन्त्रणमा सक्रिय भूमिका निभाएको थियो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आगो निभाउने क्रममा काठमाडौं महानगरपालिकाको दमकलसहित १२ वटा दमकल परिचालन भएका थिए। अवरोध र कठिनाइका बाबजुद निरन्तर समन्वय गरी बिहानसम्म अधिकांश स्थानको आगो नियन्त्रणमा ल्याइएको हो।”

सेनाले थप स्पष्ट पारेको छ कि आगो नियन्त्रण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल लगायतका निकायहरूले संयुक्त रूपमा काम गरेका थिए।

सिंहदरबार परिसरभित्रको पुरानो प्रशासनिक भवन र सर्वोच्च अदालतको पश्चिमी पाटीमा एकैसाथ आगो लाग्दा केही घण्टासम्म नियन्त्रणमा लिन कठिनाइ भएको थियो। तर, सेनाको दाबीअनुसार समयमै दमकल पुगेकाले आगो थप फैलिनबाट रोकिएको थियो।

घटनापछि सामाजिक सञ्जालमा काठमाडौं महानगरको दमकल ढिलो पुगेको भन्दै व्यापक आलोचना भएको थियो। तर सेनाको यो वक्तव्यले उक्त दाबीलाई असत्य सावित गरेको छ।

सेनाका अनुसार आगलागी नियन्त्रण कार्यमा खटिएका सबै निकायले समन्वयपूर्वक कार्य गरेकाले ठूलो जनधनको क्षति हुनबाट देश बच्न सफल भएको हो।

सेनाको भनाइमा, “समयमै दमकल र सुरक्षा निकायको सक्रियताले स्थिति नियन्त्रणमा ल्याउन निर्णायक भूमिका खेलेको छ।”

यसअघि आगो नियन्त्रणमा ढिलाइ र समन्वयको अभाव भएको भन्दै केही पक्षहरूले काठमाडौं महानगर र संघीय निकायहरूलाई जिम्मेवार ठहराउँदै आलोचना गरेका थिए। तर सेनाको ताजा विवरणले ती आरोपहरूलाई खारेज गर्दै सिंहदरबार र सर्वोच्चको आगो नियन्त्रण अभियानमा सबै निकायको संयुक्त प्रयास भएको पुष्टि गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more