करोडको रोलेक्स होइन, दाइको पुरानो रोस्टर हो’ — मन्त्री खरेलको स्पष्टीकरण

कार्तिक २, काठमाडौ । करोडौं मूल्यको ‘रोलेक्स’ घडी लगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेका सञ्चारमन्त्री जगदीश खरेलले आफूले लगाएको घडी महँगो रोलेक्स नभई दाइको पुरानो ‘रोस्टर’ भएको स्पष्टिकरण दिएका छन्।

मन्त्री बनेलगत्तै उनको हातमा देखिएको घडीको फोटो सार्वजनिक भएपछि ‘रोलेक्स डेटोना’ मोडल भन्दै आलोचना सुरु भएको थियो। तर खरेलले ती दाबीहरूलाई खारेज गर्दै भने, “त्यो मैले आफैं किनेको होइन, दाइले १५ वर्षअघि ल्याएको पुरानो ‘रोस्टर’ हो। बजार मूल्य पनि झन्डै ३० देखि ६० हजार रुपैयाँको बीचमा पर्छ।”

उनका अनुसार घडीको मूल्य करोडौं होइन, सामान्य र पुरानो मोडल भएकाले अनावश्यक प्रचार गरिएको हो। “फोटो भाइरल भएपछि विभिन्न गलत व्याख्या भए। मन्त्री बनेको केही दिनमै यस्तो हल्ला हुनु दुःखद् छ,” उनले भने।

सामाजिक सञ्जालमा उनका समर्थक र आलोचकबीच उक्त घडीबारे तीव्र बहस चलेको थियो। कतिपयले मन्त्री बनेलगत्तै विलासी जीवनशैली देखाएको भन्दै टिप्पणी गरेका थिए भने केहीले यो सामान्य कुरा भएको बताएका थिए।

खरेलको यो सार्वजनिक स्पष्टीकरणसँगै घडीसम्बन्धी विवाद केही शान्त भएको देखिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more