पूर्वऊर्जा मन्त्री दीपक खड्का परिवारसहित देशबाहिर, सम्पर्कविहीन भएकाे खुलासा

असोज २७, काठमाडौ । कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै उनका पूर्ववर्ती दीपक खड्का परिवारसहित देश छाडेको खुलासा भएको छ। संखुवासभाका खड्काका स्थानीय नेता–कार्यकर्ताले समेत उनी विदेशिएको पुष्टि गरेपछि यो घटनाले राजनीतिक वृत्तमा तरंग फैलाएको छ।

भदौ २४ गते राति खड्काको बूढानीलकण्ठस्थित निवासमा भीषण आगलागी हुँदा घर पूर्णरूपमा जलेर खरानी बनेको थियो। उक्त आगलागीपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घरभित्र ठूलो मात्रामा नेपाली र विदेशी मुद्राका नोट भेटिएको स्रोतले जनाएको छ। तर आगलागीको वास्तविक कारण र ती रकमको स्रोतबारे अझै स्पष्टता आएको छैन।

यसैबीच, घटनापछि खड्का परिवार स्थलमार्ग हुँदै भारत प्रवेश गरेको र त्यहाँबाट अमेरिका पुगेको चर्चा चलेको छ। तर, उनी तीन सातादेखि सम्पर्कविहीन रहेका छन्। उनका नातेदार र निकट नेताहरूले समेत हालसम्म उनको अवस्थाबारे जानकारी नभएको बताएका छन्।

ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको पुनः नियुक्तिपछि पुराना केही ठेक्का, विद्युत परियोजना र लगानीसम्बन्धी कागजातबारे अनुसन्धान सुरु भएको बताइएको छ। यससँगै खड्का परिवारको आकस्मिक प्रस्थानले सरकारभित्र पनि शंका उत्पन्न गरेको छ।

गृह मन्त्रालयका स्रोतका अनुसार खड्का परिवारको देश–निर्गमनबारे छानबिन सुरु गरिएको छ। प्रहरी उच्च अधिकारीहरूले समेत खड्काको बैंक कारोबार, सम्पत्ति विवरण र हालसम्मको आवागमनको विवरण संकलन गर्ने तयारी भइरहेको बताएका छन्।

संखुवासभाका स्थानीय नेताहरूले भने खड्काको सम्पर्कविहीन अवस्थाले जिल्लाभित्र पनि राजनीतिक असहजता पैदा भएको बताएका छन्। उनी कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित नेता हुन् र पछिल्लो कार्यकालमा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

यसैबीच, सरकारले आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। गृहमन्त्रीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “पूर्वमन्त्री खड्का र उनको परिवारको देश–निर्गमनबारे सरकार गम्भीर छ। आवश्यक कानुनी कारबाही अघि बढाइनेछ।”घटनाको अन्तिम तथ्य अझै सार्वजनिक नभए पनि, पूर्वमन्त्रीको सम्पर्कविहीनता र आगलागीपछि भेटिएको ठूलो रकमले सरकार र अनुसन्धान निकाय दुवैका लागि चुनौती बनेको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more