असोज २७, काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट–एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले यूएईसँगको खेलमा केवल १ रनले रोमाञ्चक जित हासिल गरेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १४०/६ रन बनायो। ओपनर आसिफ शेखले ४७ बलमा अर्धशतक (५१ रन) बनाउँदै नेपालको शुरुवात बलियो बनाए। त्यस्तै, कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेलले २० रन योगदान दिए। अन्तिमतिर गुल्शन झाले ५ बलमा १४ रन जोडे। सुरुवाती १० ओभरमा नेपालले केवल १ विकेटको क्षतिमा ७३ रन बनाए पनि त्यसपछि रनगति सुस्त रह्यो।
प्रतिपक्षी यूएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो। यूएईका लागि अलिशान सराफूले ५८ रन र ध्रुव पराशरले ३८ रन बनाए। एक समय ८२–१ मा बलियो अवस्थामा रहेको यूएईमाथि नेपालले अन्तिम चरणमा दबाब बनायो।
अन्तिम ओभरमा १० रन आवश्यक हुँदा दीपेन्द्र बलिङमा आए। पराशरले एक छक्का प्रहार गरे पनि तत्पश्चात् दीपेन्द्रले उनलाई क्याच आउट गराए। अन्तिम दुई बलमा ३ रन आवश्यक हुँदा रनआउट र शर्ट रनको कारण यूएईले केवल १ रन जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए। यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो स्थितिलाई मजबुत बनाएको छ र दर्शक तथा क्रिकेटप्रेमीहरूका लागि एक रोमाञ्चक क्षण प्रदान गरेको छ।
















