कार्तिक ५, जनकपुरधाम। तिहार पर्वअन्तर्गत यमपञ्चकको चौथो दिन आज मिथिलासहित देशभर गोवर्धन पूजा तथा अन्नकुट पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भगवान श्रीकृष्णले गोकुलवासी र गाई–गोरुलाई स्वर्गका राजा इन्द्रको प्रकोपबाट जोगाउन गोवर्धन पर्वतलाई कान्छी औंलाले उठाएको विश्वासमा यो पर्व मनाइने गरिन्छ।
पौराणिक किम्बदन्ती अनुसार, गोकुलवासीहरूले वर्षा र उर्वराका देवता इन्द्रको पूजा गर्दै आएको अवस्थामा भगवान कृष्णले त्यसको विरोध गर्दै, ‘इन्द्र होइन, हाम्रो जीवन धान्ने भूमि, गोवर्धन पर्वतको पूजा गर्नुपर्छ,’ भनेर जनतालाई प्रेरित गरेका थिए। त्यसपछि क्रोधित इन्द्रले असिना र मुसलधारे वर्षा गरेर गोकुललाई विनाश गर्ने प्रयास गरे। त्यही बेला भगवान कृष्णले आफ्नो कान्छी औंलाले गोवर्धन पर्वत उठाई गाई–गोरु र गोप–गोपीलाई त्यस मुनी आश्रय दिएर बचाए। अन्ततः इन्द्रले गल्ती बुझे र क्षमा मागेपछि नै यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।
आजको दिनमा गोरु पूजा, हल पूजा र गोवर्धन पूजा गरी कृषिप्रधान नेपाली समाजमा गोरु, हलो र माटोप्रतिको सम्मान व्यक्त गरिन्छ। बिहानैदेखि घर–घरमा गाईको गोबर र रातो माटोले आँगन लिपपोत गरी गोवर्धन पर्वतको प्रतीक स्वरूप प्रतिमा बनाई पूजा गर्ने चलन रहेको छ। गोरुहरूलाई स्नान गराई, सिङमा तेल र अबिर लगाइन्छ, घाँटीमा फूलमाला र घण्टी सजाइन्छ।
जनकपुरधाम र मिथिलाका विभिन्न मठ–मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड देखिएको छ। धार्मिक व्रत, पूजा, र ‘गोवर्धन भगवान’को आराधनासँगै अन्नकुट पर्व पनि उल्लासका साथ मनाइँदैछ। यस अवसरमा भगवानलाई ५६ भोग अर्पण गरी प्रसादस्वरूप ग्रहण गर्ने परम्परा रहिआएको छ।
मिथिलाको विभिन्न क्षेत्र, विशेषगरी कुट्टी, जनकपुरधाम, मटिहानी र धनुषाधाम क्षेत्रमा भक्तजनहरू बिहानैदेखि अन्नकुटका तयारीमा व्यस्त देखिएका छन्। गाउँ–बस्तीमा सामूहिक रूपमा मन्दिर सजाइने, दीप प्रज्वलन गरिने र गीत–भजन गाउने परम्परा आज पनि उत्तिकै जीवित छ।
हिन्दू धर्मावलम्बीहरूको विश्वास छ कि गोवर्धन पूजाले प्रकृतिप्रति श्रद्धा, भूमि र कृषिप्रति कृतज्ञता प्रकट गर्छ। किसानहरूका लागि यो पर्व उपज, आशीर्वाद र समृद्धिको प्रतीक मानिन्छ।
स्थानीय धर्मगुरुहरूका अनुसार, गोवर्धन पूजाको मुख्य सन्देश मानव र प्रकृतिबीचको सन्तुलनमा निहित छ। “प्रकृतिप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्न सक्ने चेतनाले नै मानिसलाई विनाश होइन, निर्माणको बाटोमा लग्छ,” पण्डित अमित कुमार झा ले बताए।
यसरी आज मिथिलाभर गोवर्धन पर्वत र कृषिजीवनको महिमा गुञ्जिरहेको छ — घर–घरमा पूजा, भजन, दीप र प्रसादले तिहारको उल्लास झन् रंगीन बनेको छ।
















