“जनकपुरधाम: धार्मिक पर्यटनको केन्द्रबिन्दु र आर्थिक समृद्धिको आधार”

✍️ शिवराम झा” गुड्डु” —  जनकपुरधाम–देवी सीताको जन्मभूमि र राम–जानकी विवाहस्थल–नेपालको एक अद्वितीय धार्मिक नगरी हो। यसको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व केवल मिथिलाञ्चलमै सीमित छैन, बरु सम्पूर्ण हिन्दू सभ्यताका लागि गौरवको स्रोत हो। तर वर्तमान अवस्थामा धार्मिक पर्यटकलाई आवश्यक पूर्वाधार, वातावरण र सुविधा दिन नसक्दा जनकपुरको संभाव्यता कुन्ठित भइरहेको छ। यसैबीच, भारतले बिहारको सितामढीमा भव्य जानकी मन्दिर र फुलहरमा राम–सीता भेटस्थलका रूपमा गन्तव्य विकास गर्न थालेको छ। यो गुरु योजनालाई जनकपुरसँग समेट्दै ‘सीता–राम सर्किट’ निर्माण गर्नु अहिलेको आवश्यकता हो। यससँगै, धार्मिक क्षेत्रभित्र मासु–मदिरा पूर्णतः निषेध गर्दै कुम्भमेलाजस्तै धार्मिक महोत्सव आयोजना गर्नुले धार्मिक पर्यटकहरूलाई आकर्षण गर्ने बलियो आधार बन्न सक्छ।

जनकपुरधाम केवल धार्मिक स्थल होइन, यो मिथिला संस्कृतिको हृदय हो। जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणिमण्डप, धनुष सागर, गंगासागर, सीता पुष्पवाटिका, विभिन्न पोखरी , कुटि र मठहरुले यो नगरलाई रामायणकालीन गौरवशाली इतिहाससँग जोड्छ। यहाँ झुलनोत्सव, रामनवमी, विवाहपञ्चमी, १५ दिवशिय परिक्रमा , छठ, मधुश्रावणीजस्ता पर्वहरू भव्य रूपमा मनाइन्छन्। ती सबै जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने असीम सम्भावनाहरू हुन्। तर हालसम्म ती सम्भावनालाई प्रभावकारी ढंगले योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सकेको छैन।

भारतको सितामढी–फुलहर गुरु योजना र यसको अवसर

भारत सरकारले सितामढीमा भव्य जानकी मन्दिर निर्माण गर्दैछ, जुन स्थल देवी सीताको जन्मस्थानका रूपमा मानिन्छ। त्यस्तै फुलहर जहाँ राम र सीताको पहिलो भेट भएको विश्वास गरिन्छ, त्यहाँ धार्मिक पार्क, फूलबगैँचा, ध्यान स्थल र पवित्र जलाशय विकास हुँदैछ। यदि जनकपुर, फुलहर, सितामढी र अयोध्यालाई एउटै धार्मिक मार्गमा समेटेर ‘सीता–राम सर्किट’ बनाइयो भने धार्मिक पर्यटनको अत्यधिक सम्भावना छ। नेपाल सरकारले कूटनीतिक, प्रशासनिक र सांस्कृतिक समन्वयमार्फत यो सर्किटमा जनकपुरलाई केन्द्रबिन्दु बनाउने प्रयास गर्नुपर्छ।

जनकपुर परिक्रमा क्षेत्रमा मदिरा–मासु निषेधको औचित्य

धार्मिक पर्यटक शान्त, पवित्र र धार्मिक अनुशासनयुक्त वातावरण खोज्छन्। तर जनकपुरधामको प्रमुख परिक्रमा क्षेत्रमा खुलेआम मासु र मदिरा विक्री हुने अवस्थाले यहाँको धार्मिक गरिमा खण्डित गरिरहेको छ। जानकी मन्दिर आसपास, गंगासागर, रामानन्द चौक, विवाह मण्डप जस्ता स्थलहरूमार्फत निर्माण हुने र जनकपुर परिक्रमा मार्गमा कम्तीमा ‘शुद्ध धार्मिक क्षेत्र’ घोषणा गरेर पूर्णतः मदिरा र मासु निषेध गरिनुपर्छ। भारतका धार्मिक नगरहरू–हरिद्वार, उज्जैन, अयोध्या जस्ता सहरले यस्तै नीतिको सफल कार्यान्वयन गरेका छन्। जनकपुरले पनि त्यही बाटो अपनाउन आवश्यक छ।

पूर्वाधार सुधार: पर्यटकमैत्री वातावरणको पूर्वशर्त

धार्मिक पर्यटकहरू सहज यात्रा, स्वच्छता र सुरक्षाको अपेक्षा गर्छन्। जनकपुरमा स्वक्षताको अभाव छ , विमानस्थल घरेलु स्तरमै सीमित छ।  विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्छ। त्यस्तै, पर्यटक धर्मशाला, स्वच्छ शौचालय, महिलामैत्री संरचना, विश्रामस्थल, औपचारिक पर्यटक सूचना केन्द्र जस्ता पूर्वाधारहरू विकास गर्नुपर्छ।

धार्मिक पर्यटनमा ‘कुम्भ मेलाजस्तै’ आयोजनाको आवश्यकता

भारतको प्रयागराज, हरिद्वार, उज्जैन, नासिक जस्ता सहरमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाले करोडौं पर्यटक तान्छ। जनकपुरधामले पनि हरेक तीन वा पाँच वर्षमा एकपटक ‘मिथिला महाकुम्भ’ वा ‘जनकपुर धर्म महोत्सव’ आयोजना गर्न सक्दछ। जसमा राम–सीता विवाहको भव्य नाट्य झाँकी, सप्तसागर स्नान, भजन प्रतियोगिता, मिथिला चित्रकला प्रदर्शनी, धार्मिक विद्वान सम्मेलन लगायत कार्यक्रम गर्न सकिन्छ। यसले जनकपुरलाई विश्वस्तरीय धार्मिक गन्तव्य बनाउने बलियो माध्यम बन्न सक्छ।

धार्मिक विवाह गन्तव्यको रूपमा ब्रान्डिङ

जनकपुरलाई हिन्दू विवाह संस्कारको पवित्र केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ। विवाहपञ्चमीको अवसरमा सयौं जोडीको प्रतीकात्मक विवाह, सीता–राम शैली विवाह कार्यक्रम, रामायण झाँकीसँगै विवाह संस्कारको प्रस्तुति पर्यटकहरूका लागि एक अविस्मरणीय अनुभव बन्न सक्छ। यसको लागि पर्यटन मन्त्रालय, विवाह फोटोग्राफी समूह, होटल व्यवसायी, र धार्मिक संघसंस्थाको सहकार्य आवश्यक हुन्छ। भारत र अन्य देशका हिन्दू पर्यटकलाई लक्षित गर्दै ‘जनकपुर विवाह प्याकेज’ निर्माण गर्न सकिन्छ।

डिजिटल प्रवर्द्धन: प्रचारप्रसारको अपरिहार्यता

२१औं शताब्दीको पर्यटक डिजिटल जानकारी खोज्छ। जनकपुरका लागि आधिकारिक वेबसाइट, मोबाइल एप, भिडियो गाइड, यात्रा ब्लग, युट्युब ट्राभल डकुमेन्ट्रीज आवश्यक छन्। भारतका मन्दिर च्यानलहरू, धार्मिक फेसबूक पेज, ट्राभल पोडकास्टमार्फत जनकपुरको प्रवर्द्धन गर्न सकिन्छ। ‘राम–जानकी यात्रा’, ‘जनकपुरधाम परिक्रमा’, ‘सीता सर्किट’ जस्ता शब्दहरूलाई डिजिटल मिडियामा नियमित बनाउनु आवश्यक छ।

रोजगारी, स्थानीय व्यवसाय र महिला सशक्तीकरण

धार्मिक पर्यटनले रोजगारी सिर्जना गर्छ। गाइड, ट्याक्सी सेवा, होटल, रेस्टुरेन्ट, प्रसाद बेच्ने, फूल व्यवसाय, धार्मिक वस्त्रहरू निर्माण गर्ने महिलाहरूका लागि ठूलो सम्भावना हुन्छ। मिथिला चित्रकलाको प्रशिक्षण, जनकपुर हस्तकलाका उत्पादनहरू, धार्मिक पुस्तकहरू, जनकपुर स्मृति चिन्हहरू बिक्रीबाट साना उद्यमीहरूले लाभ लिन सक्छन्। धार्मिक पर्यटक आएपछि स्थानीय जनताले प्रत्यक्ष आर्थिक फाइदा पाउनेछन्।

नागरिक र निजी क्षेत्रको भूमिका

सरकार एक्लैले धार्मिक पर्यटन विकास गर्न सक्दैन। स्थानीय संघ, धार्मिक संस्था, होटल व्यवसायी, स्वयंसेवी समूहहरूले मिलेर सहकार्य गर्नुपर्छ। जनकपुरमा पर्यटन सूचना केन्द्र, स्वच्छता अभियान, गाइड प्रशिक्षण कार्यक्रम, सांस्कृतिक कार्यक्रममा स्वयंसेवक परिचालन गर्नुपर्छ। धार्मिक क्षेत्रभित्र अनुशासन र व्यवस्थापन कायम गर्न स्थानीय बासिन्दाको भूमिका निर्णायक हुन्छ। स्थानीय स्तरमा पर्यटकले ओटोरिक्सा लाई आफ्नो प्रमुख यातायात को साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन तर ओटो रिक्सा चालक पर्यटकीय मैत्री नहुनु , पर्यटक लाई ठग्नु जस्ता घटनालाइ पुर्णरुपमा बन्देज लगाउनु पर्छ।

जनकपुरधाम नेपाल र भारतको साझा धार्मिक इतिहासको गौरवशाली केन्द्र हो। तर अझैसम्म यो पवित्र नगरी आफ्नो सम्भावनाअनुसार विकास हुन सकेको छैन। भारतले सितामढी र फुलहरलाई धार्मिक पर्यटन सर्किटको रूपमा विकसित गरिरहेको बेला, नेपालले पनि जनकपुरलाई त्यस सर्किटको केन्द्र बनाउन राज्य र जनस्तरबाट योजनाबद्ध पहल गर्नुपर्छ।

कम्तिमा जनकपुर परिक्रमा क्षेत्रमा मदिरा र मासु पूर्णतः निषेध गरी धार्मिक अनुशासन कायम गरिनुपर्छ। ‘जनकपुर कुम्भ’ वा ‘धर्म महोत्सव’ जस्ता ठूला आयोजनाहरू नियमित गर्न सकिएमा जनकपुर विश्वभरका धार्मिक पर्यटकको गन्तव्य बन्न सक्नेछ। त्यसबाट न केवल धार्मिक महत्त्व पुनःस्थापित हुनेछ, स्थानीय जनताको आर्थिक अवस्था समेत समृद्ध बन्नेछ।

अब समय आएको छ–जनकपुरधामलाई सीताको भूमि, धार्मिक आस्थाको केन्द्र र आर्थिक सम्भावनाको ढोका बनाउने  दूरदृष्टि अपनाउने, भारत ले आफ्नो धार्मिक स्थल लाई पर्यटकिय गन्तव्य को रुपमा स्थापना गर्न र पर्यटक भित्रयाउन कुनै कसर छोडी रहेको छैन चाहे लगानि होस या पर्यटक मैत्री बाताबरण दिने जस्ता दीर्घकालीन योजना । हामिले तिमी नगर पनि भन्न सक्दैनो तर हाम्रो लागि  चुनौती वास्तव मा रहेको छ तर त्यो चुनौती लाई अवसरको रुममा लिन सकिन्छ र यसको गर्न सकिएन भने जनकपुरधाम इतिहासमा मात्र सिमित हुनेछ ।

 

 

  • सम्बन्धित समाचारहरु

    नेपालमा निजी विद्यालयहरूको योगदान र वर्तमान बहस

    Read more

    आधुनिकता र परम्पराको संगम : बालेनको सपथ र सांस्कृतिक सन्देश

    Read more

    Leave a Reply