११ असोज , जनकपुरधाम। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले जनकपुरधामसहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। वर्षाको मात्रा अझ बढ्न सक्ने सम्भावना रहेकाले प्रशासनले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जनकपुरधाम तथा तराईका विभिन्न जिल्लामा रातिदेखि मुसलधारे वर्षासँगै हावाहुरी, मेघगर्जन र चट्याङ परेको छ। लगातारको वर्षाका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।
वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने र नदी तटीय तथा होचा भूभागमा बाढी, डुबान र कटानको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ।
प्रशासनले बाढी, डुबान, कटान तथा चट्याङको जोखिमबाट जोगिन अनावश्यक रूपमा नदी, खोला तथा जलाशय आसपास नजान आग्रह गरेको छ। साथै स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।


















