कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी, असार १० भित्र आउने

२६ जेठ, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न दिएको निर्देशनअनुसार बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गर्ने प्रयास गरिरहेको जनाएको हो।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा का अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएको छ भने अहिले प्राप्तांक इन्ट्री र म्याचिङको काम भइरहेको छ। उनले बिदाका दिन तथा बिहान–बेलुका समेत कर्मचारी खटाएर नतिजा तयारीलाई तीव्रता दिइएको बताए।
यस वर्ष वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। नियमित परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा २९ जना अन्य रहेका थिए।
बोर्डका अनुसार यसपटक नतिजा छिटो प्रकाशन गर्न देशभर ४८ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र सञ्चालन गरिएको थियो। काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै ६४ हजार ३३८ विद्यार्थी सहभागी हुँदा मनाङबाट सबैभन्दा कम ३१ जना परीक्षार्थी सहभागी भएका थिए। जापानस्थित Everest School का ३९ जना विद्यार्थीले समेत परीक्षा दिएका थिए।
गत वर्ष कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष नतिजा निर्धारित ४५ दिनभित्रै सार्वजनिक हुने भएपछि विद्यार्थी र अभिभावकको प्रतीक्षा चाँडै समाप्त हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more