मन्त्रिपरिषद् बैठकका ४ मुख्य निर्णय सार्वजनिक

२६ जेठ , काठमाडौ ।  — मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन तथा पूर्वाधारसम्बन्धी महत्वपूर्ण चार वटा निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल का अनुसार बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा विकासका लागि महत्त्वपूर्ण मानिएका चार जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।
स्वीकृति पाउने आयोजनामा तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजना रहेका छन्। यी आयोजनाहरूले अब वन क्षेत्र प्रयोग गर्न पाउने भएका छन्।
यसैगरी बैठकले सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई पनि स्वीकृत गरेको छ।
सामाजिक क्षेत्रमा लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटी को व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
बैठकले पूर्व गृह मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङ सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिको प्रतिवेदन पनि ग्रहण गरेको छ। तर प्रतिवेदन कार्यान्वयनबारे निर्णय भने तत्काल नभएको प्रवक्ता पोखरेलले स्पष्ट पारे।
उनका अनुसार, “अहिले फाइल ग्रहण गर्ने निर्णय भएको छ, अब यसको अध्ययन गरेर आवश्यक निर्णय लिइनेछ।”
यस्तै, काठमाडौंमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नहुने सरकारको स्पष्टता पनि बैठकमार्फत सार्वजनिक गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more