मधेशमा विद्युत् संकटबारे रास्वपा सांसद यादवको सरकारलाई खबरदारी

२४ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले मधेश प्रदेशमा फेरि लोडसेडिङको अवस्था देखिन थालेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले आफू बुधबार बिहान १० बजे मधेशबाट काठमाडौं आएको उल्लेख गर्दै मधेशका नागरिकले पुनः विद्युत् कटौतीको समस्या भोगिरहेको बताए।
उनले मधेश प्रदेशमा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या कायम रहेको भन्दै यसको दीर्घकालीन समाधान गर्न सरकारसँग आग्रह गरे।
सांसद यादवका अनुसार सिराहा जिल्लाका २८ स्थानमा ट्रान्सफर्मर आवश्यक भए पनि हालसम्म प्रतिस्थापन हुन सकेको छैन। ट्रान्सफर्मर अभावकै कारण पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको उनको भनाइ छ।
“सरकारसँग ट्रान्सफर्मर किन्न बजेट छैन कि के कारण हो? यसको जानकारी सदनलाई दिनुपर्छ,” उनले भने, “बारम्बार बत्ती जाने समस्या तत्काल समाधान गर्न सरकार गम्भीर हुनुपर्छ।”
सांसद यादवले मधेशका नागरिकलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार व्यवस्थापन तथा ट्रान्सफर्मर प्रतिस्थापनको काम शीघ्र अघि बढाउन सरकारसँग माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more