२४ असार , काठमाडौ । — सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रशासन, शिक्षा, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मुख्य सचिव नियुक्तिदेखि शिक्षा र कारागारसम्बन्धी नयाँ नियमावली स्वीकृत गर्नेसम्मका आठ प्रमुख निर्णय अनुमोदन गरेको हो।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
स्वास्थ्यतर्फ, गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
शिक्षा क्षेत्रमा सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
यस्तै, कारागार नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ।
बैठकले मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/०८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/०८३–२०८७/०८८) समेत स्वीकृत गरेको सरकारका निर्णयमा उल्लेख छ।
यी निर्णयहरू प्रशासनिक सुधार, शिक्षा क्षेत्रको नियमन, स्वास्थ्य सेवाको विस्तार, मानव अधिकार संरक्षण तथा सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको सरकारले जनाएको छ।


















