१२ अषाढ, काठमाडौ । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
त्यस्तै, कोशी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा, बागमती र गण्डकीका तराईका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।


















