२८ जेठ , काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।
सुझाव संकलन अभियानअन्तर्गत कार्यदलको टोली आइतबार ललितपुरको मानभवनस्थित पूर्वप्रधानमन्त्री दाहालको निवास पुगेको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा संविधान संशोधनका विविध पक्षबारे सामूहिक छलफल गरिएको कार्यदलले जनाएको छ।
छलफलका क्रममा संविधान कार्यान्वयनका अनुभव, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शासन प्रणाली, निर्वाचन प्रणाली तथा संविधानमा आवश्यक सुधारका विषयमा पूर्वप्रधानमन्त्रीहरूले आफ्नो धारणा र सुझाव दिएका थिए।
कार्यदलले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्ने क्रममा विभिन्न राजनीतिक दल, पूर्वपदाधिकारी, विज्ञ तथा सरोकारवालासँग परामर्श र सुझाव संकलनलाई निरन्तरता दिइरहेको जनाएको छ।
संविधान संशोधनका सम्भावित विषयमा व्यापक राष्ट्रिय बहस सिर्जना गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले प्राप्त सुझावलाई बहस पत्रमा समेट्ने तयारी गरेको छ।


















