‘संविधानविपरीत कर किन ?’ अर्थमन्त्रीसँग अमरेशको जवाफ माग

२८ जेठ, काठमाडौ  । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले बजेटले आम नागरिक, किसान, बेरोजगार युवा तथा विपन्न समुदायका समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणाामा सिंहले अर्थमन्त्रीसमक्ष सात वटा प्रश्न राख्दै शिक्षा र स्वास्थ्यमा कर लगाउने निर्णय संविधानको मर्मविपरीत भएको बताए। उनले बैंकहरूमा मात्र पैसा थुप्रिएको अवस्थामा उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह गर्न सरकार असफल भएको दाबी गरे।
सिंहले आफू अध्ययन गरेको विद्यालयजस्ता नमुना विद्यालय सातै प्रदेशमा स्थापना गर्ने योजना बजेटमा नसमेटिएको भन्दै प्रश्न उठाएका छन्। यस्तै किसानले खेतमा ५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तासम्म पुग्दा ५० रुपैयाँ पर्ने अवस्थाको अन्त्य र किसानको बजार सुनिश्चितताबारे पनि बजेट मौन रहेको उनको भनाइ छ।
उनले बढ्दो बेरोजगारी र युवामा देखिएको निराशा सम्बोधन गर्ने ठोस कार्यक्रम नआएको, गरिब, दलित र मुसहर बस्तीका लागि प्रभावकारी योजना नल्याइएको तथा पुरानो ऋण तिर्नकै लागि थप ऋण लिने प्रवृत्ति किन दोहोरिएको भन्ने प्रश्नसमेत उठाएका छन्।
सिंहले बजेटले आर्थिक असमानता घटाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने स्पष्ट रणनीति प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार बजेटले आम नागरिकको जीवनस्तर सुधारभन्दा पनि परम्परागत खर्च व्यवस्थापनमै जोड दिएको देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more