रास्वपा सिरहा अधिवेशनमा कुटाकुट, नेतृत्व विवादले कार्यक्रम स्थगित

२५ जेठ, सिरहा। — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशन नेतृत्व चयनको विवादका कारण तनावग्रस्त बनेपछि कार्यक्रम स्थगित गरिएको छ।
सोमबार जिरोमाइलस्थित अधिवेशनस्थलमा जिल्ला नेतृत्व चयनको विषयमा कार्यकर्ताबीच विवाद चर्किँदा झडप भएको हो। झडपमा र्‍यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापासहित केही कार्यकर्ता घाइते भएका छन्।
जानकारीअनुसार सभापति पदका आकांक्षी रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा नेतृत्व दिनुपर्ने अडान राखेका थिए। तर अर्का आकांक्षी सुभाष यादव र वर्तमान जिल्ला सभापति हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा उभिएपछि विवाद उत्पन्न भएको थियो। यही विषयमा भएको मतभेदले उग्र रूप लिँदा अधिवेशनस्थलमा हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ।
घटनापछि केही समय अधिवेशनस्थल तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा ल्याउन पार्टीका जिम्मेवार पदाधिकारी र सुरक्षाकर्मी परिचालन गरिएको थियो।
विवादपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि रोक्दै अधिवेशन मंगलबार बिहान ९ बजेसम्म स्थगित गरेको जनाएको छ। आयोगले नयाँ कार्यतालिकाअनुसार मंगलबारदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गरिने जानकारी दिएको छ।
नयाँ राजनीतिक संस्कार, पारदर्शिता र आन्तरिक लोकतन्त्रको वकालत गर्दै आएको रास्वपामै नेतृत्व चयनको विषयलाई लिएर भएको झडपले पार्टीको आन्तरिक व्यवस्थापन र संगठनात्मक एकतामाथि प्रश्न उठाएको छ।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more