मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा, पद स्वतः निलम्बन

२६ जेठ, बिरगंज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिंहविरुद्ध झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्। कानुनअनुसार भ्रष्टाचार मुद्दा दर्ता भई सार्वजनिक पदमा रहेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था छ।
अख्तियारका अनुसार सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’का रूपमा देखाई नागरिकता दिलाउन भूमिका खेलेका थिए। अनुसन्धानमा उनले २०७१ कात्तिक २० गते वीरगन्ज–३ मा उक्त बालिकाको जन्मदर्ता गराउन स्वयं सूचक बनेर विवरण दर्ता गराएको खुल्न आएको छ।
सोही जन्मदर्ताका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको अख्तियारको दाबी छ। घटनामा महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका अधिकारी तथा गृह मन्त्रालयका छानबिन समितिका सदस्यहरूको समेत संलग्नता देखिएको आयोगले जनाएको छ।
अख्तियारले मेयर सिंह र बालिकाकी जैविक आमा रिता भट्टराईलाई मुख्य मतियारका रूपमा मुद्दा दायर गरेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more