मत मधेसबाट, अधिकार खोसिने काम भयो : सीके राउत

२५ जेठ, काठमाडौं। — चन्द्रकान्त राउत ( सिके राउत) ले मधेसी समुदायले देशको सीमाको रक्षा गर्दै आएको दाबी गर्दै मधेसीको हातमा शासन सत्ता भएको भए लिपुलेक–लिम्पियाधुरा क्षेत्रको वर्तमान अवस्था नआउने बताएका छन्।
सोमबार काठमाडौंस्थित माइतीघरमा जनमत पार्टी  ले आयोजना गरेको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै राउतले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेसीहरूले नै देशको सीमा जोगाउने काम गरिरहेको बताए।
उनले देव नारायण यादवको उदाहरण दिँदै विगतदेखि नै मधेसी समुदाय सीमाको रक्षामा अग्रपङ्क्तिमा रहेको उल्लेख गरे। “यदि मधेसीको हातमा शासन सत्ता भएको भए लिपुलेक–लिम्पियाधुराको अहिलेको अवस्था हुने थिएन, त्यो भूमि फिर्ता भइसक्थ्यो,” राउतले दाबी गरे।
राउतले मधेसका जनताको मतको आधारमा सरकार बन्ने गरे पनि अधिकारका सवालमा मधेस सधैँ उपेक्षित हुँदै आएको आरोप लगाए। नेपालमा विभिन्न शासन व्यवस्था आए पनि मधेसका मागप्रति राज्यको दृष्टिकोण अनुदार नै रहेको उनको भनाइ थियो।
उनले राणा शासनदेखि हालसम्मका राजनीतिक शक्तिहरूले मधेसलाई न्याय दिन नसकेको आरोप लगाउँदै नागरिकता, सुकुम्बासी समस्या, स्वायत्तता लगायतका मुद्दा वर्षौंदेखि सम्बोधन हुन नसकेको बताए।
“मत मधेसबाट लिने तर अधिकार नदिने प्रवृत्ति निरन्तर चलिरहेको छ,” राउतले भने, “राणादेखि कांग्रेस, कम्युनिष्ट र पछिल्ला राजनीतिक शक्तिहरूले समेत मधेसलाई ठग्ने काम गरेका छन्।”
उनले वर्तमान सरकारलाई मधेसका राजनीतिक, सामाजिक तथा संवैधानिक मागहरू गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिए।
जनमत पार्टीले मधेसका अधिकार सुनिश्चित नभएसम्म विभेद र असमानताको अन्त्य हुन नसक्ने निष्कर्ष दोहोर्‍याउँदै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more