रौतहटका पत्रकारमाथि गालीगलौजप्रति महासंघको कडा आपत्ति, दोषीमाथि कारबाहीको माग

१५ चैत, रौतहट ।  रौतहटका एक पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौज र अपशब्द प्रयोगप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा ले गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा आपत्ति व्यक्त गरेको छ। महासंघले प्रेस स्वतन्त्रतामाथि ठाडो आक्रमण भएको ठहर गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको हो।
महासंघका अनुसार “आई सपोर्ट प्रभु साह” नामक फेसबुक आइडीबाट रौतहटका पत्रकार सञ्जयकुमार मिश्र लाई लक्षित गर्दै अशोभनीय, अपमानजनक तथा गालीगलौजयुक्त भाषा प्रयोग गरिएको थियो। उक्त गतिविधिलाई महासंघले निन्दनीय मात्र नभई स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप र धम्कीको रूपमा लिएको जनाएको छ।
महासंघका सचिव गौतम श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि सामाजिक सञ्जालमा सञ्चालनमा रहेको उक्त आइडी आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सांसद प्रभु साह को नाम जोडेर सञ्चालनमा रहेको देखिन्छ। आम जनता पार्टीका एक सदस्यले पार्टी परित्याग गरेको विषयमा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारमाथि गालीगलौज गर्नु अत्यन्तै आपत्तिजनक र अशोभनीय भएको महासंघको निष्कर्ष छ।
महासंघले स्पष्ट पारेको छ कि कुनै समाचारप्रति असहमति भएमा त्यसको समाधानका लागि कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ। तर, सामाजिक सञ्जालमार्फत पत्रकारको मानमर्दन गर्नु, अपशब्द प्रयोग गर्नु र धम्की दिने कार्य प्रेस स्वतन्त्रताको उपहास गर्नु सरह भएको जनाएको छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै महासंघले जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहट को ध्यानाकर्षण गराएको छ। साथै, उक्त फेसबुक आइडीको यथार्थ पहिचान गरी संलग्न व्यक्तिमाथि छानबिन गरेर कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।
महासंघले यस्ता गतिविधिले पत्रकारहरूलाई त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य बनाउने भन्दै तत्काल रोक्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै महासंघले यस्ता घटनामा ढिलाइ नगरी कडाइका साथ कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।
साथै, नागरिकको सूचना पाउने अधिकार सुरक्षित राख्न स्वतन्त्र र निष्पक्ष पत्रकारिताको संरक्षण अपरिहार्य रहेको जनाउँदै महासंघले राज्यका सबै निकायलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more