३ चैत, काठमाडौ । बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावनासँगै परम्परागत राजनीतिक शैली तोड्ने रणनीतिमा देखिएका छन्। स्रोतका अनुसार उनले पद सम्हालेपछि शासन सञ्चालनमा ‘लो–प्रोफाइल तर हाई–इम्प्याक्ट’ मोडल अपनाउने तयारी गरेका छन्।
प्राप्त जानकारीअनुसार शाहले प्रधानमन्त्री बनेपछि सुरुका दुई वर्ष छिमेकी देशको औपचारिक भ्रमण नगर्ने, तर आवश्यक पर्दा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई सीमित ‘वन–टु–वन’ कूटनीतिक भेटवार्ता गर्ने योजना बनाएका छन्।
प्रधानमन्त्री कार्यालय सञ्चालनमा कडाइ ल्याउँदै उनले बिचौलिया, अनावश्यक भेटघाट तथा ठेकेदार समूहसँगको पहुँच पूर्ण रूपमा बन्द गर्ने नीति लिन लागेको बताइएको छ। औपचारिकता मात्रका कार्यक्रम, रिबन काट्ने जस्ता गतिविधिमा नजाने र पूर्ण रूपमा काममुखी शासन चलाउने उनको अडान रहेको स्रोतको दाबी छ।
सरकारको संरचना पनि छोटो र प्रभावकारी बनाउने तयारीस्वरूप मन्त्रालय संख्या करिब १२ देखि १५ मा सीमित गर्ने, राजनीतिक भागबण्डाभन्दा विषयगत विज्ञलाई प्राथमिकता दिने तथा आवश्यक परे विज्ञ सल्लाहकारमार्फत नीतिगत निर्णय लिने योजना अघि सारिएको छ।
यस्तै, रवि लामिछाने पार्टी सञ्चालनमा केन्द्रित हुने र शाहले सरकार नेतृत्व सम्हाल्ने गरी आन्तरिक कार्यविभाजनबारे समेत छलफल भइरहेको स्रोतले जनाएको छ।
समग्रमा, परम्परागत शैलीलाई चुनौती दिँदै परिणाममुखी, कडाइयुक्त र प्रभावकारी शासन सञ्चालनतर्फ बालेन शाहको प्रारम्भिक रोडम्याप तयार भएको संकेत देखिएको छ।

















