२० फागुन, जनकपुरधाम। — मधेश प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल का ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्। सरकारी सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट रमेश मण्डललाई नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा प्रयोगमा रहेको गाडी सरकारी भए पनि त्यसमा निजी नम्बर प्लेट जडान गरिएको भेटिएको बताइएको छ।
पक्राउ गरिएको सवारीमा ‘बागमती–प्र–०१ ००३२ च ७८९४’ नम्बर अंकित रहे पनि उक्त नम्बर शंकास्पद र गलत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। गाडी अवैध तथा गैरकानुनी रूपमा सञ्चालन गरिएको आशंकामा थप अनुसन्धान अघि बढाइएको छ।
रमेश मण्डल पूर्वसभामुख मण्डलका निजी सचिवसमेत रहेको बताइएको छ।
यसअघि आचरणविपरीतको कार्यको आरोपमा मधेश प्रदेश सभाका दुई तिहाइ सदस्यद्वारा पदमुक्त भएका रामचन्द्र मण्डलले त्यसपछि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए। हाल उनले धनुषा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



















