डिपफेक भिडियो फैलाएको आरोपमा एक पक्राउ, बालेनलाई मोदीले शुभकामना दिएको भ्रामक दाबी

२० फागुन , काठमाडौ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका– निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले साइबर ब्युरोको प्राविधिक सहयोगमा सोमबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार ठाकुरले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) लाई नरेन्द्र मोदी ले जितको शुभकामना दिएको दाबी गर्दै भिडियो पोस्ट गरेका थिए।
उक्त भिडियोमा “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई जितको शुभकामना दिए” भन्ने आशयको सन्देश समावेश गरिएको थियो। तर ‘टेकपाना’को फ्याक्टचेक डेस्कले भिडियो परीक्षण गर्दा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरी तयार पारिएको डिपफेक सामग्री भएको पुष्टि गरेको थियो। त्यसलगत्तै प्रहरी अनुसन्धानमा जुटेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका ठाकुरमाथि साइबर अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गर्दै चर्चित व्यक्तिहरूको नक्कली भिडियो (डिपफेक) निर्माण गरी अफवाह फैलाउने क्रम बढ्दो रहेको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि कडाइ गर्ने चेतावनी दिएको छ।
निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मतदातालाई भ्रममा पार्ने तथा प्रभाव पार्ने प्रयास बढेको ठहर गर्दै सुरक्षा निकायले अनलाइन गतिविधिमाथि निगरानी तीव्र बनाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more