१७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको आक्रमणका क्रममा एक नेपालीसहित तीनजनाको मृत्यु भएको पुष्टि भएको छ। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सञ्चारमाध्यमसँगको कुराकानीमा मृतकमध्ये एकजना नेपाली नागरिक रहेको जानकारी दिए। मृतकको नाम भने हालसम्म प्राप्त नभएको उनले बताए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि ज्यान गएको छ। मृत्यु हुनेहरूको औपचारिक परिचय सार्वजनिक गरिएको छैन।
समाचारअनुसार उक्त आक्रमणमा ५८ जना घाइते भएका छन्। घाइते हुनेहरूमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्। उनीहरू सामान्य घाइते भएको जनाइएको छ।
यसैबीच United Arab Emirates Ministry of Defence ले फेब्रुअरी २८, २०२६ देखि सुरु भएको इरानी आक्रमणपछि देशको वायुसेना र हवाई प्रतिरक्षा प्रणाली उच्च सतर्कतामा रहेको जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनको सामना गरिएको छ।
मन्त्रालयले दिएको विवरणअनुसार १६५ मध्ये १५२ वटा ब्यालेस्टिक मिसाइल नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्। दुईवटा क्रुज मिसाइल पत्ता लगाई नष्ट गरिएको बताइएको छ। त्यसैगरी ५४१ वटा ड्रोनमध्ये ५०६ वटालाई बीचमै अवरुद्ध गरी नष्ट गरिएको र ३५ वटा यूएईको सीमाभित्र खसेर भौतिक क्षति पुर्याएको उल्लेख गरिएको छ।
आक्रमणको दोस्रो बिहान मात्रै २० वटा ब्यालेस्टिक मिसाइल नष्ट गरिएको र आठवटा समुद्रमा खसेको जनाइएको छ। साथै, दुईवटा क्रुज मिसाइल र ३११ वटा ड्रोन नष्ट गरिएको तथा २१ वटा ड्रोनले नागरिक लक्ष्यमा प्रहार गरेको विवरण सार्वजनिक गरिएको छ।
यूएईको सशस्त्र बल जुनसुकै खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै मन्त्रालयले नागरिक, बासिन्दा र आगन्तुकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अपुष्ट जानकारी नफैलाउन आग्रह गरिएको छ।

















