रौतहट क्षेत्र नं. २ का सांसद उमेदवार किरण कुमार साहद्वारा गौर–सबगढा घटनामा निष्पक्ष छानबिन र सद्भाव कायम राख्न अपिल

१० फागुन, गौर।  प्रेमचन्द्र झा–  रौतहट निर्वाचन क्षेत्र नं. २ अन्तर्गत गौर नगरपालिका–सबगढामा हालै घटेको घटनाप्रति सांसद उमेदवार किरण कुमार साह ले गहिरो दुःख व्यक्त गरेका छन्। उनले उक्त घटनालाई हृदयविदारक भन्दै समाजको शान्ति, सद्भाव र धार्मिक आस्थामाथि गम्भीर चोट पुगेको बताएका छन्।
जारी वक्तव्यमा साहले समाजमा द्वन्द्व र हिंसा भड्काउने जो–कोही भए पनि तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्। “दोषी जो कोही भए पनि कानूनभन्दा माथि कोही छैन,” उनले उल्लेख गरेका छन्।
उनले सनातन हिन्दु र मुस्लिम समुदायबीच सदियौँदेखि कायम आपसी सम्मान, भाइचारा र सहअस्तित्वको परम्परालाई स्मरण गर्दै केही व्यक्तिको गलत कार्यका कारण कुनै पनि धर्म वा समुदायको छविमा आँच आउन नहुने बताएका छन्। “हामी सबै नेपाली हौँ, हाम्रो पहिचान आपसी सद्भाव र एकतामा छ,” उनले भनेका छन्।
साहका अनुसार उक्त घटनाले हिन्दु तथा मुस्लिम दुवै समुदायको मन मर्माहत बनाएको छ। आफू चुनावी मैदानमा रहे पनि घटनाले व्यक्तिगत रूपमा गहिरो असर पारेको उनले बताएका छन्।
उनले प्रशासनलाई निष्पक्ष र छिटो छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई न्याय दिलाउन आग्रह गरेका छन्। साथै सम्पूर्ण समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई संयम, शान्ति र एकता कायम राख्न अपिल गर्दै धर्मले विभाजन नभई सद्भाव र मानवताको पाठ सिकाउने उल्लेख गरेका छन्।
साहले शान्ति र न्यायको पक्षमा सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more