बालेन्द्र शाहविरुद्ध नागरिकता सम्बन्धी उजुरी, गृह मन्त्रालयमा अनुसन्धानको माग

९ फागुन , काठमाडौ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहविरुद्ध नागरिकता सम्बन्धी विषयमा गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।
युवराज सफलले शुक्रबार गृह मन्त्रालयमा निवेदन दर्ता गर्दै शाहले थर परिवर्तन गरी झुटो विवरणका आधारमा नागरिकताको प्रतिलिपि लिएको आरोप लगाएका हुन्। उजुरीमा उल्लेख भएअनुसार शाहले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बरको वंशजको नागरिकता लिएका थिए, जसमा थर ‘साह’ उल्लेख रहेको दाबी गरिएको छ। तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा भने थर ‘शाह’ उल्लेख गरिएको उजुरीकर्ताको भनाइ छ।
उजुरीकर्ताले नेपाल नागरिकता ऐन, २०६३को दफा १७ अनुसार थर परिवर्तन गर्न चाहने व्यक्तिले तथ्य र कारणसहित निर्धारित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सो प्रक्रिया अपनाइए/नअपनाइएकोबारे छानबिन गर्न माग गरेका छन्। साथै, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरिएको सक्कल फाइलमाथि समेत अनुसन्धान गर्नुपर्ने निवेदनमा उल्लेख छ।
उजुरीमा कथित झुटो विवरणका आधारमा लिइएको नागरिकता रद्द गर्न, शाहलाई तत्काल पक्राउ गर्न तथा नागरिकता ऐन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ। निवेदनमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको मागसमेत समावेश गरिएको छ।
गृह मन्त्रालयले उजुरी दर्ता भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार विषयमा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइने जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more