८ फागुन , रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढवामा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना सहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। विवाद साम्य पार्ने प्रयास जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।
स्थानीय स्रोतका अनुसार बिहीबार राति हिन्दू समुदायको एक घरमा विवाह कार्यक्रम चलिरहेका बेला बाजा बजाउने विषयलाई लिएर केही व्यक्तिबीच भनाभन भएको थियो। विवाहको जन्ती बाजा बजाउँदै गाउँबाट जाने क्रममा मस्जिदमा नमाज पढिरहेको समयमा आवाजका कारण विवाद सुरु भएको बताइएको छ।
भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहका सदस्यलाई कुटपिट गरेका थिए। सोही घटनालाई लिएर शुक्रबार बिहानदेखि दुवै समुदायबीच पुनः झडप भएको हो। झडपका क्रममा दुवै पक्षबाट ढुंगामुढा भएको स्थानीयले बताएका छन्।
घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरी उपरीक्षक सिताराम रिजाल र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामहरि अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ। हाल स्थिति नियन्त्रणमा ल्याउने र थप अप्रिय घटना हुन नदिन सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ।

















