जनकपुरधाम, माघ १६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले सबै मतदान स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्। उनले निर्वाचनको समयमा शान्ति–सुरक्षा बिथोल्ने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने स्पष्ट पारे।
प्रदेश प्रहरीले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पर्ने अभिव्यक्ति तथा गतिविधि नगर्न डीआईजी थपलियाले अनुरोध गरेका छन्। सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने कुनै पनि कार्य सह्य नहुने उनको चेतावनी छ।
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ। चारवटै सुरक्षा निकायले एकीकृत तथा पृथक रणनीतिक सुरक्षा योजना तयार गरी संयन्त्र परिचालन गरिसकेको जनाइएको छ। केही सुरक्षा फौजलाई तयारी अवस्थामा राखिएको छ।
मधेश प्रदेशका आठै जिल्लामा रहेका ४ हजार ४७१ मतदान केन्द्रको स्थलगत निरीक्षणपछि सुरक्षा चुनौतीका आधारमा मतदान स्थललाई ‘सामान्य’, ‘संवेदनशील’ र ‘अति संवेदनशील’ गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रदेश प्रहरीका अनुसार १ हजार २ सय ४६ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ भने ७६३ मतदान स्थललाई संवेदनशील वर्गमा राखिएको छ। १६० मतदान केन्द्रलाई मात्र सामान्य वर्गीकरणमा राखिएको छ।
सप्तरी जिल्लामा सबैभन्दा बढी मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्। सप्तरीका २९६ मतदान स्थलमध्ये २०९ वटा अति संवेदनशील रहेका छन्। त्यस्तै सिराहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका छन्। संवेदनशील मतदान स्थलमध्ये सर्लाहीमा सबैभन्दा बढी १३१ स्थल रहेका छन्।
सुरक्षा चुनौती भएका क्षेत्रमा विशेष निगरानीसहित अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाइएको छ। मधेश प्रदेशमा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित करिब ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज परिचालन गर्ने तयारी गरिएको छ। त्यसमध्ये करिब ४० हजार नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने बताइएको छ।
प्रदेश प्रहरीले मतदान स्थलसम्म सुरक्षाकर्मीको उपस्थिति सुनिश्चित गरी मतदाता र उम्मेदवार दुवैलाई सुरक्षित तथा सहज वातावरण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोही उम्मेदवारलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। विद्यालय र बालबालिकाको निर्वाचन प्रयोजनका लागि प्रयोग नगर्न पनि प्रदेश प्रहरीले आग्रह गरेको छ।
















