पुस २७, काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। अहिलेसम्म कुल प्रतिनिधिमध्ये ४९ प्रतिशतभन्दा बढीले नाम दर्ता गराइसकेका छन्, जसले विशेष महाधिवेशनप्रति पार्टीभित्र उल्लेख्य चासो र सक्रियता देखाएको छ।
कार्यक्रम आयोजकका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता आज बिहान सवा ८ बजेदेखि सुरु भएको हो। दिउँसोसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा हालसम्म २ हजार ३ सय ४० जनाले दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।
नाम दर्ता प्रक्रिया सहज बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै दर्ता डेस्कको व्यवस्था गरिएको छ। काठमाडौँको भृकुटीमण्डपस्थित मूलगेट नजिकैका स्टलहरूमा प्रतिनिधिहरू धमाधम दर्ता गराइरहेका छन्। दर्ताका लागि परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य गरिएको छ।
यसअघि गत असोज २९ गते कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका थिए। नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। यही संवैधानिक व्यवस्थाका आधारमा पार्टीमा विशेष महाधिवेशन बोलाइएको हो।
संस्थापन पक्षले लामो समयसम्म मागलाई बेवास्ता गरेपछि विधानको उक्त व्यवस्थालाई टेकेर पार्टी पुनर्जागरणको पहलस्वरूप विशेष महाधिवेशन आयोजना गरिएको नेताहरूले बताएका छन्। दुई दिने विशेष महाधिवेशनको नेतृत्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन्।
विशेष महाधिवेशनमार्फत पार्टीको आन्तरिक अवस्था, नेतृत्वको भूमिका, संगठनात्मक कमजोरी तथा भावी राजनीतिक दिशाबारे गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ। नाम दर्ता प्रक्रियामा देखिएको उत्साहले नेपाली कांग्रेसभित्र नयाँ बहस र परिवर्तनको ढोका खुल्न सक्ने संकेत देखिएको नेताहरूको भनाइ छ।
















