पुस २६, काठमाडौ । राष्ट्रिय मुक्ति पार्टीभित्र गम्भीर आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोले तानाशाही र नातावादी शैलीमा एकल निर्णय गर्दै आएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष, प्रवक्ता सहित २७ जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्।
राजीनामा दिने निर्णयमा पुगेकाहरूमा उपत्यकाका वरिष्ठ उपाध्यक्ष सुमन सायमी, पार्टी प्रवक्ता रविन्द्र कुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू बलराम वाग्ले, शिवेश बज्राचार्य, बेबी राजभण्डारी, गीता राजवंशी, साबित्रा देवी धिमिरे लगायत रहेका छन्। उनीहरूसँगै उपत्यकाबाहिरका केही केन्द्रीय सदस्यहरू पनि सामूहिक राजीनामामा सहभागी हुने जनाइएको छ।
राजीनामा दिन लागेका नेताहरूले पार्टीभित्र नेतृत्वको निर्णय प्रक्रिया अपारदर्शी, व्यक्तिकेन्द्रित र सीमित घेराभित्र सीमित हुँदै गएको आरोप लगाएका छन्। पार्टीमा आन्तरिक लोकतान्त्रिक अभ्यास समाप्त हुँदै गएको र आलोचनात्मक आवाजलाई दबाउने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ। यही कारण पार्टीभित्र रहिरहन असम्भव भएको निष्कर्षसहित सामूहिक रूपमा पार्टी परित्याग गर्ने निर्णय गरिएको बताइएको छ।
स्रोतका अनुसार राजीनामापछि उनीहरू नेपाली कम्युनिष्ट पार्टी (तारा–प्रचण्ड समूह) मा प्रवेश गर्ने तयारीमा छन्। यस घटनाले राष्ट्रिय मुक्ति पार्टीभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको र पार्टीको भविष्यलाई लिएर गम्भीर प्रश्न खडा भएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
यो खबर अर्थभुमी बाट लिइएको हो।



















