महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

७ मंसिर, काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेन–जी युवाले रातो मसी छ्यापेका छन्। प्रहरी भ्यान पछाडि चलिरहेको बेला सडक किनाराबाट दौडिँदै आएका युवाहरूले बस्नेत सवार कारमा रातो मसी फ्याँकेका हुन्।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गर्दा एयरपोर्ट लाइनको सडक खण्डमा मसी फ्याँकिएको थियो।

घटना लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो। प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरी भ्यानमार्फत जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा समेत जेन–जी युवाहरूले महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेको भिडियोमा देखिन्छ। संजोग गौतमले महेश बस्नेत र एमालेविरुद्ध सांकेतिक विरोधस्वरूप रातो मसी फ्याँकेको बताएका छन्।

महेश बस्नेतले पनि आफ्नो गाडीमा रातो मसी प्रहार भएको पुष्टि गरेका छन्।
“एयरपोर्टबाट निस्कँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए,” बस्नेतले भने, “पछि पुलिसले समायो, हामी चाहिँ हिँड्यौं।”

कार्यक्रममा जान अवरोध पुर्‍याउने उद्देश्यले यस्तो गरिएको दाबी गर्दै बस्नेतले यसलाई “लोकतन्त्रमाथिको उपहास” भनेका छन्।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more