मंसिर ६, जनकपुरधाम। विवाहपञ्चमी महोत्सव–२०८२ का अवसरमा नेपाल–भारत खुला सिमा संवाद समूह, जनकपुरधाम (नेपाल) तथा क्लोथ बैंक नेपाल, धनुषाद्वारा संयुक्त रूपमा श्रद्धालु भक्तजनका लागि विशेष निःशुल्क सेवा शिविर सञ्चालन गरिने भएको छ। उक्त सेवा शिविरका बारेमा औपचारिक जानकारी दिदैँ आयोजकहरूले भक्तजनहरूको सहजता तथा स्वास्थ्य र आवास व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्।शिविरमार्फत भक्तजनका लागि निःशुल्क सेवाहरु निःशुल्क खाना,पिउने पानी,चिया,प्राथमिक उपचार सेवा,औषधि वितरण,आवास (रात्रीकालीन व्यवस्था)।
यस सेवाले विवाहपञ्चमीमा विभिन्न स्थानबाट आउने भक्तजनलाई ठूलो सहुलियत हुने आयोजकहरूको विश्वास छ। भक्तजन तथा उपस्थितजनसमक्ष जारी सूचनामा कार्यक्रमका लागि आवश्यक सहयोग, उपस्थिति तथा सहभागिताका लागि विशेष अनुरोध गरिएको छ।
स्थान र समय:- स्थान: रामचौक, युनियन बैंकको छेउमा अवस्थित आवास–मिनापको ट्रष्ट ,समय: बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म (आवास–रात्रीकालीन सुविधा सहित) हुने।
कार्यक्रमका अध्यक्ष तथा नेपाल–भारत खुला सिमा संवाद समूह, जनकपुरधामका प्रमुख डा. राजीव झाले विवाहपञ्चमी जस्तो महत्वपूर्ण धार्मिक पर्वमा भक्तजनको सेवामा लाग्न पाउनु गर्वको विषय भएको बताउँदै सबैलाई सहकार्य र समर्थनका लागि आभार व्यक्त गरेका छन्।
आयोजकद्वयले भक्तजनलाई सहज र सुरक्षित वातावरण प्रदान गर्दै धार्मिक तथा सामाजिक सेवाको परम्परालाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्।
















