विघटित संसद पुनःस्थापनाको मागसहित काठमाडौंमा एमालेको वृहत जनसभा

मंसिर ६, काठमाडौ । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा उत्रिएको नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ। संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूल नाराका साथ शनिबार आयोजित उक्त सभामा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रह्यो। पार्टीले वर्तमान सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै देशभर जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ।

सभा बारे जानकारी दिँदै नेता पार्वत गुरूङले कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने बताउनुभयो। नेताहरूले प्रतिनिधि सभा विघटन, सरकारको कार्यशैली, चुनावी अनिश्चितता तथा संविधानिक प्रक्रियामा देखिएको हस्तक्षेपबारे कडा आलोचना गर्ने अपेक्षा गरिएको छ।

सभामा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले भृकुटीमण्डप र आसपासका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरिएको थियो। ट्राफिक ब्यवस्थापनदेखि भीड नियन्त्रणसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीको ठूलो संख्या परिचालन गरिएको थियो।

एमालेले वर्तमान सरकारले निर्वाचन गराउने मनसाय नै नराखेको जिकिर गर्दै वडा तहदेखि नै जनपरिचालन अभियानलाई व्यापक बनाएको छ। सोसँगै पार्टीले यही मंसिर २७, २८ र २९ गते आयोजना गर्न लागेको राष्ट्रिय महाधिवेशनको तयारी पनि तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। आजको जनसभा एमालेको आन्दोलन तथा आगामी राजनीतिक योजनाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more