मंसिर ३, जनकपुरधाम। मधेश प्रदेशसभामा सभामुखविरुद्ध दर्ता गरिएको ‘पद अनुकूल आचरण नगरेको’ प्रस्तावमाथि आज भएको मतदानमा प्रस्ताव भारी मतले पारित भएको छ। मतदानको नतिजा अनुसार प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा एक मत पनि नपरेपछि सभामुख रामचन्द्र मण्डल स्वयम् पदमुक्त भएका छन्।
प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२(१) बमोजिम सभामुखले पदअनुकूल आचरण नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले प्रस्ताव पेश गरेका थिए। नियमअनुसार यस्तो प्रस्ताव पेश भएपछि अनिवार्य रूपमा सदनमा छलफल र निर्णय प्रक्रियाबाट जानुपर्ने कानुनी व्यवस्था छ।
आज बसेको प्रदेश सभा बैठकमा विस्तृत छलफलपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। मतदान परिणाममा सभामुखविरुद्ध एकमत जस्तै देखिएको छ, जसले मधेश प्रदेशसभाको हालको राजनीतिक अवस्थालाई झनै स्पष्ट बनाइदिएको छ।
यसअघि सभामुख मण्डलको कार्यशैली, नियम उल्लङ्घन, मनोमानी निर्णय तथा सदन सञ्चालनमा देखिएको अव्यवस्थाप्रति दल–दलका सांसदहरू निरन्तर आलोचना गर्दै आएका थिए। यही असन्तुष्टिको परिणतिका रूपमा प्रस्तुत प्रस्ताव आज ऐतिहासिक रूपमा पारित भएको हो।
मतदान परिणामसँगै रामचन्द्र मण्डल अब सभामुख पदमा रहेनन्, र प्रदेशसभाले नियमअनुसार नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने छ।
















