मंसिर ३, सिमरा/ बारा। सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी मधेश प्रदेश संयोजक शिव यादवले सिमरा चोकमा भएका घटनाबारे कडा प्रतिक्रिया जनाउँदै नेकपा एमालेका कार्यकर्तामाथि नियोजित रूपमा जेनजी कार्यकर्तामाथि आक्रमण गरेको आरोप सार्वजनिक गरेका छन्। यादवका अनुसार सिमरा चोकमै आज जेनजी बारा समितिको पूर्वनियत कार्यक्रम भइरहेको बेला एमालेद्वारा परिचालित गुन्डा समूह कार्यक्रमस्थलमा पसेर बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी सदस्यहरूलाई कुटपिट गरेका थिए। उनले जेनजीले कुनै पनि अवस्थामा एमालेको कार्यक्रम अवरोध गरेको नभई उल्टै एमालेकै कार्यकर्ता अनावश्यक रूपमा सिमरासम्म आएर अपमान, दुर्व्यवहार र आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार एमालेको औपचारिक कार्यक्रम परवानीपुरमा हुँदै थियो तर कतिपयले जेनजीले एमालेलाई अवरोध गर्यो भन्ने भ्रामक अनि पूर्वाग्रही सूचना फैलाएर आन्दोलनलाई बदनाम गर्न खोजिएका प्रयासहरू निराधार र दुष्प्रयास हुन्।
यादवले फेसबुकमा लेख्दै मिडियाकर्मी तथा सरोकारवाला सबैलाई गलत सूचना नफैलाउन आग्रह गरेका छन्। साथै घटनामा संलग्न एमाले कार्यकर्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने मागसमेत राखेका छन्। उनले आजको घटनाका मुख्य योजनाकारका रूपमा एमाले नेता महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै पछिल्लो समय एमालेले मधेशमा उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने क्रियाकलाप बढाइरहेको आरोप पनि लगाएका छन्। यादवका अनुसार एमालेका यस्ता क्रियाकलापले मधेशको शान्ति–सुरक्षामा प्रत्यक्ष असर परिरहेको हुँदा राज्य र सुरक्षा संयन्त्रले उच्च संवेदनशीलता अपनाई कडा कदम चाल्न जरुरी छ।
















