मिथिला–मधेसमा आजदेखि सुरु भयो महान पर्व छठ, नहाय–खायसँगै भक्तिभावपूर्ण वातावरण

कार्तिक ८, जनकपुरधाम। मिथिला–मधेसमा आजदेखि महान पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ। आज श्रद्धालुहरूले बिहानै नदि, पोखरी र तलाउमा शुद्ध स्नान गरी घर–आँगन सफा–सुग्घर बनाएर चोखो भोजन ग्रहण गरेका छन्। यसरी नहाय–खायसँगै छठ पर्वको औपचारिक सुरुवात भएको हो। सूर्यदेव र छठी मइयाप्रति समर्पित यो पर्व मिथिला–मधेसको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।

भोलि दोस्रो दिन ‘खरना’ मनाइनेछ। यस दिन उपासकहरूले दिनभर निराहार बस्दै बेलुकी दूध, गुड, चामल र केरा मिसाएर तयार पारिएको खीर अर्पण गरेपछि मात्र प्रसाद ग्रहण गर्छन्। तेस्रो दिन अर्थात् सोमबार  साँझ ‘सन्ध्या अर्घ्य’ दिइनेछ भने अन्तिम दिन मंगलबार बिहान ‘उषा अर्घ्य’ दिइएपछि पर्वको समापन हुनेछ। छठ पर्वमा विशेषगरी महिलाहरूले परिवारको सुख–समृद्धि र सन्तानको दीर्घायुका लागि आत्मसंयमपूर्वक व्रत बस्ने परम्परा रहँदै आएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले  गङ्गासागर, धनुषसागर , अङ्गराज सागर लगायतका पोखरीहरूमा  सरसफाइ तथा पूजा समितिहरुले पण्डाल निर्माण , मर्मत तथा बत्तीको व्यवस्था मिलाएको जनाएको छ। छठका अवसरमा बजारहरूमा भीड बढेको छ, पूजाका सामग्री, फलफूल र माटाका दीप खरिद गर्न मानिसहरूको घुइँचो देखिएको छ।

छठ पर्वले मिथिला–मधेसमा धार्मिक आस्था मात्र होइन, सामाजिक एकता र सांस्कृतिक उत्साह पनि जगाएको छ। बिहानदेखि नै धार्मिक गीत–भजन गुञ्जिएका छन् र सहरभर उज्यालो र पवित्रताको वातावरण फैलिएको छ। आजको ‘नहाय–खाय’सँगै सूर्योपासना, श्रद्धा र शुद्धताको यो महान पर्वले सम्पूर्ण मिथिला–मधेसमा उत्सवको माहोल ल्याएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more