भात्रद्वितिया पर्वमा मिथिला उमंगित : दिदीबहिनीले भाइको दीर्घायुका लागि गरिदै मंगल पूजा

कार्तिक ६, जनकपुरधाम । मिथिला क्षेत्रमा आज भात्रद्वितिया पर्व (भाइटीका) अत्यन्तै हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना भाइहरूको दीर्घायु, सुख–समृद्धि र कल्याणको कामना गर्दै पूजापाठ गरी तिलक, अक्षता र मिठाई अर्पण गरेका छन्। बिहानैदेखि घर–घरमा विशेष पूजा तयारीसहित शुभ वातावरण सिर्जना गरिएको छ। परम्पराअनुसार दिदीबहिनीहरूले स्नान गरी पूजा स्थली तयार पारेपछि भाइलाई बसालेर “गङ्गा  नोतेया यमुनाके हम नोते छि भायके, जेसन जमुना के धार बहेत ताहिसन भैया के औरदा बढे” भन्ने मंगलमय मन्त्र उच्चारण गर्दै भाइको आरती गर्दछन्। यस मन्त्रको अर्थ “जस्तै गङ्गा–यमुना निरन्तर बगिरहेझैँ भाइको आयु र समृद्धि पनि बढ्दै जाओस्” भन्ने हो।

पण्डित ज्योतिर्विद्य अमित कुमार झाको अनुसार भ्रातृद्वितीयऽक मुहूर्त बिहान १०:०५ देखि १२:२७ सम्म अभिजीत तथा निशिता मुहूर्त को कारण उत्तम रहेको छ।

जनकपुरधाम लगायत मिथिला क्षेत्रका  आज बिहानदेखि नै भाइबहिनीबीचको आत्मीय सम्बन्ध झल्किने दृश्यहरू देखिएका छन्। घरमा पारम्परिक मण्डप सजाएर, माटोका दीया, धुप, फूल र रंगोलीसहित पूजा सम्पन्न गरिएको छ। दिदीहरूले भाइको निधारमा पञ्चरङ्गी टिका लगाई मिठाई, मखान, फलफूल र दही अर्पण गर्दछन्। भाइहरूले पनि दिदीबहिनीलाई दक्षिणा, लुगाफाटा वा उपहार दिई शुभकामना जनाउँछन्। यस पर्वमा परिवारका सबै सदस्यहरू एउटै ठाउँमा भेला भई भोज र पारिवारिक मेलमिलापको वातावरण सिर्जना गर्छन्।

भात्रद्वितियाको उत्पत्तिसँग यमराज र यमुना देवीको कथा जोडिएको छ। जनश्रुतिअनुसार यमराज लामो समयपछि आफ्नी बहिनी यमुनाको घर पुगेका थिए। बहिनीले स्नान, पूजा र आतिथ्यसहित भाइको स्वागत गरी दीर्घायुको वर मागेकी थिइन्। त्यसपछि यमराजले वचन दिए — “आजको दिन जसले आफ्नी बहिनीबाट स्नान र पूजा ग्रहण गर्छ, उसलाई मृत्युको भय हुँदैन।” त्यसै दिनदेखि भाइदूज अर्थात् भात्रद्वितिया पर्व मनाउने परम्परा सुरु भएको विश्वास छ। मिथिला क्षेत्रका महिलाहरू यो पर्वलाई बहिनी र भाइबीचको आत्मीयता, माया र आशीर्वादको प्रतीकका रूपमा मान्छन्।

आजको दिन दिदीबहिनीहरूले भाइलाई तिलक लगाउने मात्र होइन, सल्लाह, स्नेह र शुभेच्छा पनि दिन्छन्। कतिपय स्थानमा भाइ टाढा रहेका छन् भने उनीहरूको नाम उच्चारण गरी पूजा गर्ने र सूर्य–चन्द्रलाई भाइका प्रतीकका रूपमा तिलक लगाउने परम्परा पनि छ। यसरी शारीरिक दूरी भए पनि मनको स्नेहले सम्बन्धलाई बलियो बनाइन्छ।

मिथिला क्षेत्रमा भात्रद्वितिया पर्वलाई केवल भाइबहिनीको सम्बन्धको दिन मात्र नभई पारिवारिक एकता, धार्मिक विश्वास र सांस्कृतिक जीवन्तताको प्रतीकका रूपमा लिइन्छ। मिथिलाका लोकगीतहरूमा पनि आजको दिन दिदीबहिनीले गाउने भावपूर्ण पंक्तिहरू गुन्जिएका छन् — “भायके माथा तिलक लगाइब, मखान फूलसे आरती उतारब, दीर्घ आयु होइ, सुख शान्ति मिलै, ईश्वरसे अरज करब।” आज दिनभर मिथिला क्षेत्रमा भाइबहिनीबीचको हार्दिक स्नेह र मिलनको वातावरण छाएको छ। साँझ घर–घरमा आरती र दीप प्रज्वलन गर्दै परिवारका सदस्यहरूले पारम्परिक भोज र गीत–संगीतका साथ पर्वको समापन गर्ने परम्परा रहेको छ।

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more