
असोज २५, काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्व पुस्तान्तरणको तयारीस्वरूप महेश बस्नेतलाई पार्टीको अध्यक्ष बनाउने इच्छा व्यक्त गरेका छन्। पार्टीभित्र पुस्तान्तरणको माग तीव्र भइरहेका बेला ओलीले निकट नेताहरूसँगको छलफलमा बस्नेतलाई आफ्नो “राजनीतिक उत्तराधिकारी”का रूपमा अगाडि ल्याउने संकेत दिएका हुन्।
पार्टीका स्रोतका अनुसार, पछिल्लो सचिवालय बैठकमा ओलीमाथि राजीनामा दिएर नेतृत्व सुम्पनुपर्ने दबाब तीव्र बनेपछि उनले आफ्ना विश्वासपात्र नेताहरूसँग सल्लाह गर्दै भनेका थिए, “यदि मैले अध्यक्षता हस्तान्तरण गर्नै पर्यो भने, त्यो जिम्मेवारी महेश बस्नेतलाई दिन चाहन्छु। उनी दृढ, निडर र मप्रति पूर्ण निष्ठावान् छन्।” यस वक्तव्यपछि पार्टीभित्र नयाँ नेतृत्वबारे चर्चाले गति लिएको छ।
ओलीले हिजो आयोजित एक कार्यक्रममा पनि महेश बस्नेतको खुलेर प्रशंसा गर्दै उनलाई “एमालेभित्रको एक्लो बहादुर नेता” भनेका थिए। उनका अनुसार, अहिले पार्टीमा विचारभन्दा पनि व्यक्तिगत स्वार्थ र अवसरवाद हावी भइरहेको बेला बस्नेतजस्ता नेता सिद्धान्तका लागि ज्यान दिन तयार छन्। यही कारण ओलीले उनलाई आफ्नो विचार र राजनीतिक यात्राको निरन्तरता दिन सक्ने व्यक्तिका रूपमा देखिरहेका छन्।
जेनजी आन्दोलनपछि बस्नेत ओलीप्रति अझ नजिक बनेका छन्। उनी आफ्नै नेतृत्वमा विभिन्न युवा कार्यक्रम आयोजना गरेर ओलीलाई मुख्य वक्ताको रूपमा उपस्थित गराउँदै आएका छन्। ती कार्यक्रमहरूमा सहभागीता बढ्दै गएपछि बस्नेतको भूमिका ओलीको ‘राजनीतिक उत्तराधिकारी’ को रूपमा थप मजबुत भएको देखिन्छ। यसक्रममा बस्नेतले ओलीको सुरक्षालाई पनि आफ्नो जिम्मेवारी मानेका छन्। बालकोटस्थित निवासमा सुरक्षा चुनौती बढेपछि उनले ओलीलाई आफ्नै क्षेत्र भक्तपुरको गुण्डुमा सुरक्षित बस्न आग्रह गर्दै अस्थायी बसोबासको व्यवस्था समेत मिलाएका थिए। यसले ओली र बस्नेतबीचको विश्वास झन् गहिरो भएको बताइन्छ।
तर, ओलीको यो सम्भावित निर्णयप्रति पार्टीभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। केही नेताहरूले बस्नेतलाई युवा ऊर्जासहितको कार्यकर्ता–मैत्री नेता भन्दै समर्थन जनाएका छन् भने अन्यले उनलाई अनुभवहीन र अत्यधिक आक्रामक भनेर चिन्तासमेत व्यक्त गरेका छन्। एक वरिष्ठ एमाले नेताले नाम नखुलाउने शर्तमा भनेका छन्, “पुस्तान्तरण विचार र संस्थागत अभ्यासका आधारमा हुनुपर्छ, केवल व्यक्तिगत निष्ठामा होइन।”
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो कदमले पार्टीभित्र शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ। उनीहरूले यसलाई “ओलीपश्चात् युगको संकेत” भन्दै व्याख्या गरेका छन्। विश्लेषक भानुभक्त ज्ञवालीका अनुसार, “ओलीले बस्नेतलाई अगाडि ल्याएर दुई सन्देश दिएका छन् — पहिलो, उनी पुस्तान्तरणको तयारीमा छन्; दोस्रो, नेतृत्व हस्तान्तरण आफ्नो प्रभावभित्रै रहोस् भन्ने चाहना राख्छन्।”
हाल एमालेभित्र महेश बस्नेतको नाम नेतृत्व पुस्तान्तरणको केन्द्रमा पुगेको छ। ओलीले उनलाई निष्ठा, समर्पण र “लडाकु स्वभाव” का कारण अध्यक्षका रूपमा अघि सार्न चाहेका छन्। तर पार्टीभित्रको असन्तोष र प्रतिस्पर्धी समूहहरूको प्रतिक्रिया कस्तो आउँछ भन्ने विषय खुला छ। निकट स्रोतहरूका अनुसार, ओलीले आगामी केही हप्ताभित्र पार्टी नेतृत्व पुनर्संरचना गर्ने तयारीसमेत गरिरहेका छन्। अब, एमालेभित्रको राजनीतिक भविष्य “ओलीपछि को?” भन्ने प्रश्नको उत्तर महेश बस्नेतकै वरिपरि केन्द्रित हुन थालेको स्पष्ट संकेत देखिएको छ।