जनकपुरधामसहित देशभर हर्षोल्लासका साथ बिजया दशमी मनाइँदै

असोज १६ , जनकपुरधाम। देशैभर आज हिन्दूहरूको महान् चाड बिजया दशमी हर्षोल्लासका साथ मनाइँदैछ। जनकपुरधामसहित सम्पूर्ण देशभर विभिन्न मन्दिर र घरघरमा दुर्गा भवानीको पूजा–अर्चना गरी माता दुर्गाको प्रसादस्वरूप टीका–जामरा लगाउने परम्परा अनुसार पर्व मनाइँदैछ।

जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिर, राजदेवी मन्दिर र अन्य देवीस्थानहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड देखिएको छ। श्रद्धालुहरूले विजया दशमीको दिनमा शक्ति स्वरूप माताको आराधना गरी रोग, शोक, संकट र विघ्न नाश होस् भन्ने कामना गरेका छन्।

यस अवसरमा दुर्गा नवमीमा पूजिएको जामरा घरघरमा राखिएको कलशबाट निकालेर वृद्ध–बृद्धा, गुरुजन तथा आशीर्वाद दिने योग्य व्यक्तिहरूबाट टिका–जामरा ग्रहण गर्ने चलन अनुसार जनकपुरधाममा पनि विहानैदेखि टिका थाप्ने क्रम सुरु भएको छ। आज साझ महावीर युवा कमिटी को आयोजनामा रावण बध को कार्यक्रम समेत रहेको कमिटिले जानकारी गराएको छ।

सरकारी कार्यालय र विद्यालयहरू आज सार्वजनिक बिदा रहेको कारण गाउँ–शहरभर परिवारजन एकत्रित भई आफन्तबीच टिका–जामरा लगाई मंगलकामना आदान–प्रदान गर्ने परम्परा उत्साहका साथ सम्पन्न भइरहेको छ।

पण्डित ज्योतिर्विद्य अमित कुमार झाका अनुसार विजया दशमीको दिनलाई सत्यले असत्यमाथि, धर्मले अधर्ममाथि र सदाचारले कदाचारमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाइन्छ। यसैकारण यो पर्वलाई “विजयादशमी” भन्ने गरिन्छ।देश–विदेशमा रहेका नेपालीहरूले पनि परिवार, आफन्त र साथीभाइलाई शुभकामना आदान–प्रदान गर्दै यो पर्व मनाइरहेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    माइतीघर घटनाबारे महेश बस्नेतको आपत्ति: निष्पक्ष छानबिनको माग

    Read more

    सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल

    Read more