भदौ २१, काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भन्दै कडा विरोध जनाएका छन् ।
प्रचण्डले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध भइरहेका आलोचनालाई दबाउन निरन्तर मुद्दा दर्ता गर्ने, आफ्ना पक्षलाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको आरोप लगाएका छन् । उनले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल पूर्णरूपमा बन्द गर्ने कदम उठाएको स्पष्ट गरे ।
उनको भनाइमा, “सरकारको यो कदम केवल संविधानविरोधी मात्र नभई सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन तथा प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको समेत अपव्याख्या हो ।”
प्रचण्डले यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभई, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क र सञ्चारलाई समेत जटिल र असहज बनाएको बताए ।सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमन आवश्यक भएको प्रष्ट पार्दै उनले संसद्मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुपर्नेमा सरकार कार्यकारी आदेशमार्फत सञ्जाल बन्द गर्ने आपत्तिजनक कदमतर्फ उन्मुख भएको आरोप लगाए ।
संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन् ।
















